बुटवल । मेडिटेक इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर बुटवलमा रक्तदान कार्यक्रम गरेको छ । रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा हस्पिटलको आफ्नै भवनमा आयोजना भएको रक्तदान कार्यक्रममा अस्पतालका कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मी लगायत ३३ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै संस्थाका अध्यक्ष जेपी कंडेलले अस्पतालको सामाजिक उत्तरदायित्व बहनका कार्यक्रमहरु अन्तरगत अन्य कार्यक्रमको साथै रक्तदान कार्यक्रम आयोजना गरेको बताउनु भयो । उहाँले एकसय बीस दिनमा आफै खेर जाने रगत अन्य व्यक्तिको जीवन बचाउनका महादाननै हुने उल्लेख गर्नुभयो ।
बुटवलमा देखिएको रगत अभावलाई केही हदसम्म भए पनि कम गर्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको हस्पिटलका प्रवन्ध निर्देशक गणेश ज्ञवालीले जानकारी दिनुभयो । साथै उहाँले हस्पिटलले हरेक ३÷ ३ महिनामा नियमित रक्तदान कार्यक्रम आयोजना गर्दै आएको र आगामी दिनमा यस कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
अस्पतालमा हप्ताका सातै बार विशेषज्ञ डाक्टरसंग फोनमार्फत सम्पर्क गरेर बिरामीले आफ्ना समस्या बताउने र विशेषज्ञ डाक्टरले परामर्श दिने ‘हेल्लो मेडिटेक कार्यक्रम’ सञ्चालन भईरहेको अस्पतालका प्रबन्ध निर्देशक गणेश ज्ञवालीले जानकारी दिनुभयो ।
यसका साथै अस्पतालले ७० वर्ष पुगेका जेष्ठ नागरिक, विपन्न परिवार, सञ्चारकर्मीलाई निःशुल्क ओपिडी टिकट उपलब्ध गराउँदै आएको छ ।
रक्तदान गरेका रक्तदाताहरुलाई संघका अध्यक्ष जेपी कंडेल,प्रवन्ध निर्देशक गणेश ज्ञवाली, बाबुराम खनाल लगायतले प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।



