खेमानन्द पाठक / बुटवल । नेपाल शैक्षिक परामर्श संघ रुपन्देही शाखाले लुम्बिनी प्रदेश परामर्श संवाद २०८३ सम्पन्न गरेको छ । शैक्षिक परामर्श क्षेत्रको व्यावसायिकता र कानुनी अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनक बहादुर शाहीले सही प्रक्रियामा चलेका कन्सल्टेन्सीलाई प्रहरीले साथ दिने बताउनुभयो ।
उहाँले कानुन सम्बत सञ्चालित व्यवसायीलाई प्रहरीले कहिल्यै पनि हतोत्साहित नगर्ने बताउनु भयो । उहाँका अनुसार मापदण्ड तथा प्रक्रिया पूरा नगरी, दर्ता, नवीकरण नगरी, बिना इजाजत शैक्षिक परामर्श सेवा, पूर्व तयारी कक्षा, भाषा शिक्षणजस्ता सेवा प्रदान गर्ने गरेको गुनासो आएपछि प्रहरीले कारबाही अघि बढाएको बताउनु भयो ।
इक्यान केन्द्रीय अध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रियु) ले अवैध कन्सल्टेन्सीमाथि कारबाही गरिरहँदा कानुनबमोजिम सञ्चालन भइरहेकामाथि पनि नकरात्मक आक्षेप लागेको गुनासो गर्नुभयो । मापदण्ड अनुसार सञ्चालन भएका संस्थामाथि कुनै कारबाही नगरेको र ढुक्कसँग सञ्चालन गर्न पौडेलले आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै इक्यानका निवर्तमान केन्द्रीय अध्यक्ष शेषराज भट्टराईले गलत मनसायले सञ्चालन गरेका कन्सल्टेन्सीलाई कारवाहि गर्नुपर्ने बताउनु भयो । उहाँले गलत मनसायबाट सञ्चालित कन्सल्टेन्सी र इक्यानका सदस्यलाई एकै ठाउमा राखेर तुलना नगर्न समेत आग्रह गर्नुभयो । कानुनी जटिलता शैक्षिक व्ययसायीले नल्याएको उल्लेख गर्दै सरकारले समयमा शिक्षा नियमावली नल्याउदा कन्सल्टेन्सी व्यवसायीले विभिन्न समस्या भोग्दै आउनु परेको बताउनु भयो ।
इक्यान रुपन्देही अध्यक्ष गोविन्द बस्नेतले इक्यान रुपन्देहीमा दर्ता भएका सम्पुर्ण व्यवसायीलाई सरकारले समयमै शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी कार्यविधि’ अनुमति पत्र जारी नगरेको कारण धेरै व्यवसायीले दर्ता गर्न नपाएको बताउदै ढुक्क भएर व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो । गलत मनसाय बाट सञ्चालन नगरेका व्यवसायीको सरक्षण गर्न इक्यान रुपन्देही तयार रहेको बताउदै गलत गर्नेको संरक्षण गर्न पक्षमा इक्यान नरहेको बताउनुभयो ।
कार्यक्रममा इक्यान केन्द्रका प्रथम उपाध्यक्ष बासुदेव दाहाल, महासचिव भवानाथ हुमागाई, सहकोषाध्यक्ष गोविन्द खनाल,इक्यान रुपन्देहीका निबर्तमान अध्यक्ष गिरिराज पाण्डे, इक्यान रुपन्देहीका सस्थापक अध्यक्ष तथा सल्लाहकार समितिका सभापति देवबहादुर कुँवर लगायतले बोल्दै देशभर ३ वटा प्रदेशले मात्र शैक्षिक परामर्श व्यवसाय सञ्चालन गर्न अनुमति प्राप्त प्रदान गर्न आवेदन खुलाएको उल्लेख गर्दै लुम्बिनी प्रदेशले पनि व्यवसाय सञ्चालन गर्न अनुमति प्रदान गर्न आवेदन खुलाउन आग्रह गर्नुभयो ।
कार्यक्रमको संञ्चालन सचिव उपेन्द्र यादव र सञ्चालन दिपेश अर्यालले गर्नुभएको थियो ।



