काठमाडौं । गुल्मीको पश्चिमी भेगमा पर्ने मदाने गाउँपालिका–६ ९साविक पुर्कोटदह गाविस–४० नुवार घर भएका प्रहरी सहायक हवल्दार सुरेश कुँवर दुई सुरक्षा संगठनबीचको सद्भाव, समन्वय र साझा राष्ट्रसेवाको उदाहरण बनेका छन् ।
प्रारम्भदेखि नै राष्ट्रसेवाको सपना बोकेका कुँवरले २०७० साल भदौ ७ गते महेश्वरी बाहिनी बाङ्गेसिमल, सुर्खेतबाट सशस्त्र प्रहरी बल नेपालमा सेवा प्रवेशका लागि आवेदन दिएका थिए । तर भर्ना छनोट प्रक्रियामै उनी असफल भए ।
सपना पूरा नभए पनि राष्ट्रप्रतिको जिम्मेवारी र सेवाभाव भने कमजोर बनेन। सशस्त्र प्रहरी बलमा प्रवेश गर्न नपाएपछि उनले २०७० साल असोज १५ गते नेपाल प्रहरीमा सेवा प्रवेश गरे। त्यसयता उनले विभिन्न जिल्लामा इमान्दारिता, अनुशासन र कर्तव्यनिष्ठाका साथ सेवा प्रदान गर्दै आएका छन् । हाल उनी काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत छन्।
नेपाल प्रहरीमा कार्यरत रहे पनि सुरक्षा संयन्त्रको उद्देश्य एउटै हुने विश्वासका साथ कुँवरले सशस्त्र प्रहरी बलजस्ता निकायहरूसँग सधैं सुमधुर सम्बन्ध र प्रभावकारी समन्वय कायम गर्दै आए । यही योगदानको कदरस्वरूप सशस्त्र प्रहरी बल नेपालले आफ्नो २५औँ रजत महोत्सवको अवसरमा प्रधान कार्यालय हलचोकमा आयोजित प्रभातकालीन समारोहमा उनलाई आइ जि, एपि एफ प्रशंसा पत्रद्वारा सम्मान गरेको हो । सम्मान सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालको हातबाट प्रदान गरिएको थियो । नेपाल प्रहरीको तल्लो दर्जामा कार्यरत कर्मचारीलाई सशस्त्र प्रहरी बल नेपालबाट यस प्रकारको सम्मान प्रदान हुनु दुर्लभ मानिन्छ ।



