तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले राष्ट्रिय क्रिकेट टोलीका ३ खेलाडीलाई नगद राशीसहित सम्मानगरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरि खेलाडीहरुलाई जनही ५० हजार नगद राशीसहित सम्मान गरेको हो । आइसीसी विश्वक लिग(२ मा उत्कृष्ट खेल प्रदर्शन गरेका ओपनर ब्याटम्यान कुशल भुर्तेल, राष्ट्रिय टोलीमा सहभागी मौसम ढकाल तथा यू(१९ क्रिकेटका क्याप्टेन देव खनाललाई सम्मान गरिएको हो । दुई राष्ट्रिय खेलाडी सम्मिलित सिनीयर टोलीले विश्व कप छनोट खेल्न पाउने भएका छन ।
तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाण, उप प्रमुख जगेश्वरदेवी चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले संयुक्त रुपमा टीका, माला तथा प्रशंसापत्र सहित नगद पुरस्कारले सम्मान गर्नु भएको हो । खेलाडीहरुलाई सम्मान गर्दै नगर प्रमुख खाणले तिलोत्तमालाई क्रकेटको हबको रुपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गर्नु भयो ।
खेलको माध्यमबाट भौतिक पूर्वाधार तथा मानवीय बिकासमा समेत टेवा पुग्ने भएको हुदा आफ्नो स्रोत र साधनले भ्याएसम्म तिलोत्तमाले खेलकूदको क्षेत्रमा लगानी गरेको बताउनु भयो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा उत्कृष्ट खेल प्रदर्शन गर्दै तिलोत्तमा र सिङ्गो मुलुकलाई पहिचान दिलाउन सकेको भन्दै सम्मानित खेलाडीहरुलाई बधाईसहित शुभकामना व्यक्त गर्नु भयो ।
यसैगरी नगर उपप्रमुख चौधरीले खेलाडीहरुलाई बधाई दिँदै नेपालको पहिचानसँगै तिलोत्तमालाई विशेष रुपमा पहिचान प्रदान गर्न सफल भएको उल्लेख गर्नु भयो । खेलाडी उत्पादनका लागि तिलोत्तमा नगरपालिकाले आवश्यक पहल जारी राखेको बताउँदै चौधरीले खेलकै माध्यमबाट तिलोत्तमालाई परिचित गराउन पाउनु खुशीको कुरा भएको बताउनु भयो ।
सम्मान ग्रहण गर्दै राष्ट्रिय खेलाडी भुर्तेलले सबैको साथ समर्थनले नै आफू र आफ्नो टिमले सफलता हात पारेको उल्लेख गर्नु भयो । नगरपालिकाले आफूहरुलाई सम्मान गरेर तिलोत्तमामा थप नयाँ र प्रतिभावना खेलाडी उत्पादनका लागि अवसर सिर्जना गरेकोमा खेलाडी हरुमा हौसला थप हुन उल्लेख गर्नुभएको थियो ।



