काठमाडौं । काठमाडौंमा शुरु भएको एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले शानदार शुरुआत गरेको छ । नेपालले मंगलबार भएको पहिलो खेलमा मलेसियामाथि उत्कृष्ट प्रदर्शन गरेको हो । नेपाल ६ विकेटले विजयी भयो । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा भएको खेलमा मलेसियाले दिएको २३६ रनको चुनौती नेपालले ३६.२ ओभरमै ४ विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालका लागि भीम सार्कीले संयमित तथा कुशल मल्लले आक्रामक खेल खेले । भीमले ९८ बलमा ७१ रन जोडे । सो क्रममा उनले ५ चौका प्रहार गरे । कुशलले भने ४० बलमा अविजित रहँदै ५ छक्का र ५ चौकाको मद्धतले ७० रन जोडे । दिपेन्द्र सिंह ऐरीले ३ बलमा ५ रन बनाएर अविजित रहे । नेपालले १० रन अतिरिक्तका रुपमा पाएको थियो ।
यसअघि कप्तान रोहित पौडेलले ४३ बलमा ४२ तथा कुशल भुर्तेलले ३१ बलमा ३८ रन बनाए । आसिफ शेख भने १ रनमा आउट भए ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनायो । मलेसियाले शुरुआतमा उत्कृष्ट ब्याटिङ गरेसँगै नेपाली बलरले सफलता हासिल गर्न सकेका थिएनन् । तर पछिल्लो क्रममा भने ब्याट्सम्यानहरु टिक्न नसकेपछि मलेसिया २३५ रनमै समेटियो ।
मलेसियाका लागि कप्तान अहमद फैजले ७६ रन जोडे । विरनदीप सिंहले ४६ रन जोडे । दुवैबीच दोस्रो विकेटका लागि ११६ रनको साझेदारी भएको थियो । त्यस्तै खिजर हायातले २२ तथा सयाजरुल इद्रुसले १३ बलमा २१ रन बनाए । नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ३–३ विकेट लिए ।
त्यस्तै ललित राजवंशीले २ तथा गुल्सन झाले १ विकेट लिए । नेपाली टिममा अनुभवी खेलाडीहरु ज्ञानेन्द्र मल्ल र करण केसी बेन्चमा रहे । सो खेलको समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन् । समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् ।



