बुटवल । रुपन्देहीको देवदह नगरपालिका वडा नं. १० चरङ्गेमा रहेको सीता माध्यमिक विद्यालयमा हिनामिना भएको रकम असुल गर्दा उल्टै आफैमाथी लान्छना लगाउने काम भएको व्यवस्थापन समितिका अध्यक्ष यकबहादुर सुनारले बताउनु भएको छ ।
वडा नं. १० का अध्यक्ष समेत रहनु भएको सुनारले मंगलबार विद्यालयमा पत्रकार सम्मेलन गरेर विद्यालय व्यवस्थापन समितिको अध्यक्ष आफू भएपछि विद्यालयलाई सुधारको गतिमा अगाडि बढाएको र यस अगाडि तीन आर्थिक वर्षको अडिट समेत नभएकाले दुई आर्थिक वर्षको अडिट सकिएको पनि उहाँले जानकारी गराउनु भयो । पछिल्लो (अन्तिम आर्थिक वर्षको अडिटको काम भईरहेको बताउँदै २०७७।७८ को अडिटमा त्रुटी भेटिएको र सोही अनुसार तत्कालिन प्रधानाध्यापकसंग स्प्रष्टिकरण सोधिएको र तत्कालिन लेखापालसंग अडिटले सुझाएअनुसार ९ लाख २५ हजार भराउने काम भएको जानकारी गराउनु भयो ।
त्यस अगाडि केही सञ्चार माध्यमले हुदै नभएको लान्छना लगाउने काम गरेको बताउँदै त्यसमा कुनै सत्यता नभएको अध्यक्ष सुनारले दावी गर्नुभयो । अध्यक्ष सुनारले बस खरिदको लागि विनियोजित रकम बैंकको खातामै रहेको जानकारी दिनुभयो । उहाँले आफूसँग समेत केही नसोधी पूर्वाग्राही ढंगबाट समाचार आएको बतानु भयो ।
विद्यालयमा २०७९ फागुन १० गते सुनारको नेतृत्वमा नयाँ व्यवस्थापन समिति चयन भएको थियो भने २०८० बैशाख २९ गते उमाकान्त अधिकारीलाई प्रधानाध्यापकको जिम्मेवारी प्रदान गरिएको थियो ।



