बुटवल । जी–२५ क्लव बुटवल–११को साधारणसभा तथा अधिबेशनले क्लवको नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न क्लवको साधारणसभा तथा अधिबेशनबाट जगदिश न्यौपाने अध्यक्षमा निर्वाचित हुनुभएको छ । अध्यक्ष पदका लागि भएको निर्वाचनमा निकटतम प्रतिष्प्रधि सजन कुमार भारीलाई १ मतले पराजित गरी न्यौपाने अध्यक्षमा निर्वाचित हुनुभएको हो । न्यौपानेले २६ र भारीले २५ मत प्राप्त गर्नुभयो ।
यस्तै क्लवको उपाध्यक्षमा मदन पौडेल निर्वाचित भएका छन् । पौडेलले आफ्ना प्रतिष्प्रधि निरज के.सी.लाई २ मतले पराजित गर्दै उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । पौडेलले २५ र के.सी.ले २३ मत प्राप्त प्राप्त गर्नुभयो । क्लवको महासचिवमा किशोर पंगेनी, कोषाध्यक्षमा भेषराज अर्याल र सचिवमा रेशम बहादुर महरा निर्विरोध निर्वाचित हुनुभएको छ ।
यस्तै चार सदस्य पदका लागि ६ जनाबीच भएको प्रतिष्प्रधामा श्रीप्रसाद श्रेष्ठ, बिमल पौडेल, मिलनकुमार भारी र देबेन्द्रबहादुर घर्ती निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत अधिवक्ता केशवराज पोखरेलले जानकारी गराउनुभयो ।
यस अघि साधारणसभाको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सामाजिक कार्यमा क्रियाशिल जी–२५ क्लवले यस समाज गर्ने सामाजिक तथा रचनात्मक कार्यक्रमका लागि उपमहानगरपालिकाले सहयोग गर्ने विश्वास दिलाउनुभयो।
सामाजिक क्षेत्रमा क्रियाशिल जी–२५ क्लवले केही समय अगाडी कपडा बैंकको स्थापना गरी बुटवलका उद्योगी, ब्यवसायी तथा क्लवका सदस्यहरुसंग कपडा संकलन गरी करिव २ सय बढि गरिव तथा विपन्नवर्गका मानिसहरुलाई वितरण गरेको थियो । यस्तै क्लवले विभिन्न धार्मिक तथा सांस्कृतिक पर्वका अवसरमा ज्येष्ठ नागरिकलाई खिर खुवाउने तथा ग्लुकोज वितरण लगायतका सामाजिक कार्य गर्दै आइरहेको छ



