बुटवल– बुटवलमा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र आङ खस्ने समस्यासम्बन्धि निशुल्क स्वास्थ्य शिविर भएको छ ।
बुटवल उपमहानगरपालिकाको आयोजना र सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको प्राविधिक सहकार्यमा सोमबार बुटवल ११ बुद्धनगरस्थित शहरी स्वास्थ्य केन्द्रमा शिविर शुरु भएको हो । शिविरमा १४ बर्ष मुनिका सबै बालबालिकाहरुको निःशुल्क पोषण अबस्था परिक्षण पनि शुरु भएको छ ।
शिविरको शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलमा घरदैलोमा सेवा पु¥याउने गरी शिविर सञ्चालन गरिएको र यसले निरन्तरता पाउने बताउनुभयो । उहाँले महिला, बालबालिका र जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा उपचारमा प्राथमिकता दिदै बुटवलका सबै वडावडामा शिविर सञ्चालन गर्ने बताउनुभयो ।
’हामीले बुटवलको स्वास्थ्यलाई स्तरीय बनाउँदै बुटवलबाट अन्यत्र उपचार गर्न जान नपरोस् भन्ने गरी केही कामहरुको थालनी गरेका छौं–उहाँले भन्नुभयो–यसले बुटवललाई स्वास्थ्य क्षेत्रमा धेरै अगाडि लैजानेछ।’ उहाँले आम्दा अस्पताललाई ३ सय बेडमा सञ्चालन गर्ने, फार्मेसी, नर्सिङको अध्ययन शुरु गर्ने र न्युरोसम्बन्धी उपचार शुरु गर्ने गरी तयारी गरिरहेको बताउनुभयो । नगरप्रमुख पाण्डेयले बुटवलमा अहिले २ वटा १५–१५ बेडका अस्पताल निर्माणको क्रममा रहेको र आगामी आर्थिक वर्षदेखि सञ्चालनमा आउने बताउनुभयो ।
कार्यक्रममा वडा नं ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, आम्दा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा राजेन्द्र बस्याल, स्थानीय आनन्दमान शाक्यलगायतले बोल्नुभएको थियो । शिविरमा प्रसुति रोग विशेषज्ञ डा राजेन्द्र बस्याल, डा बालगोविन्द चौधरी, बालरोग विशेषज्ञ डा सुन्दर न्यौपाने, स्वास्थ्यकर्मीहरु ज्ञानु केसी, सुनिता चौधरी र शहरी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु परिचालन भएको बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिनुभयो। स्वास्थ्य परीक्षण शिविर सबै वडाहरुमा क्रमैसँग सञ्चालन हुने उहाँले बताउनुभयो ।
शिविरमा ३०६ जनाले सेवा लिएका छन् भने ५७ जनालाई क्यान्सर हो कि होइन भनेर परीक्षणका लागि सिफारिश गरिएको छ । ४जनामा आङ खस्ने समस्याको उपचारका लागि रिङपेशरी लगाइएको छ । ६० जना बालबालिकाको पोषण जाँच गरिएकोमा ५ जनामा कुपोषित देखिएको, १५ जना जोखिममा रहेको, ७ जनामा ज्वरो र केहीमा छालासम्बन्धि रोग देखा परेको र थप उपचारका लागि सिफारिश गरिएको स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताउनुभयो ।



