बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले इक्यान केन्द्रीय समितिको नव निर्वाचित नेतृत्वलाई सम्मान गरेको छ । इक्यानले शुक्रबार रुपन्देहीको तिलोत्तमास्थित वनवाटिकामा वनभोज कार्यक्रमसहित सम्मान गरेको हो ।
सो अवसरमा बोल्दै इक्यानका केन्द्रीय अध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रयु) ले शैक्षिक परामर्श दाताहरुलाई थप मर्यादित बनाउनका लागि प्रदेशस्तरमा कानून निर्माणको खाँचो रहेको बताउनुभयो । शैक्षिक परामर्श दाताहरुलाई सरकारले हेर्ने दृष्टिकोण सकारात्मक नभएको गुनासो गर्दै उहाँले आवश्यक नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । इक्यान र यसका सदस्यहरुलाई मर्यादित तथा व्यवसायिक सुरक्षाका लागि ५१ लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्ने घोषणा गर्दै उहाँले आफ्नो तर्फदेखी उक्त कोषका लागि ११ लाख रुपैयाँ प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै इक्यानका निवर्तमान केन्द्रीय अध्यक्ष शेषराज भट्टराई, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, इक्यान रुपन्देहीका संस्थापक अध्यक्ष देवबहादुर कुंवर , निवर्तमान अध्यक्ष गिरिराज पाण्डे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
इक्यान रुपन्देहीका अध्यक्ष गोविन्द बस्नेतले केन्द्रको नयाँ नेतृत्वलाई दोसल्ला प्रमाणपत्रले सम्मान गर्नुभएको थियो । कार्यक्रमको संञ्चालन सचिव उपेन्द्र यादव र सञ्चालन दिपेश अर्यालले गर्नुभएको थियो ।



