भैरहवा । रुपन्देही– ४ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सर्वेन्द्र नाथ शुक्ला निर्वाचित हुनुभएको छ । शुक्लाले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवारलाई पाँच हजार दुई सय ९६ मतले पछि पार्दै २८ हजार मत प्राप्त गरी निर्वाचित भएको रुपन्देही–४ का निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए ।
उनका अनुसार शुक्लाका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रमोद कुमार यादवले २२ हजार सात सय चार मत प्राप्त गरेका छन् । त्यस्तै जनमत पार्टीका भोपेन्द्र प्रसाद यादवले १५ हजार ५ सय २६ मत मत प्राप्त गरेका छन ।
एक लाख दश हजार ६ सय ५९ मतदाता रहेकोमा रुपन्देही–४ को प्रतिनिधीसभामा ७७ हजार ६४ मत खसेको थियो । २०७४ को निर्वाचनमा यादवले शुक्लालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । यसअघिको हारको बदला लिँदै शुक्लाले यसपटक जित निकाल्न सफल भए । शुक्ला यसक्षेत्रबाट पहिला पहिला निर्वाचित हुँदै आएका थिए । उनी पूर्वमन्त्री हुन् ।



