शिक्षा, स्वास्थ्य लगायतका आधारभुत आवश्यकताका बिषयलाई प्राथमीकतामा राख्दै पाँचदलिय गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं १ बाट प्रतिनिधि सभा स्वतन्त्र उम्मेदवार दिनुुभएको घनश्याम भुसालले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्नुुभएको छ । सोमवार सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा सरसफाई, पर्यटन, भूमिव्यवस्था, युवा स्वरोजगार तथा खेलकुद, भौतिक पूर्वाधार तथा सडक, विद्युत, सञ्चार, पुलतथा कलभर्ट, बाढी नियन्त्रण तथा तटबन्धन, औद्योगक तथाव्यवसायिक पूर्वाधार, शान्ति सुरक्षा, प्राकृतिक स्रोतसाधन लगायतका विषयलाई समेटिएको छ ।
त्यस्तै प्रतिबद्धता पत्रमा देवदह क्षेत्रको पर्यटकीय विकास र लुम्बिनीबौद्ध विश्वविद्यालय संचालनमा विशेष जोड दिइएको छ । ‘देवदहको विकास भनेको रुपन्देही १ र रुपन्देही जिल्लाको मात्र विकास नभएर राष्ट्रकै बिकाससँग जोडिएको छ’, प्रतिनिधि सभाका लागि स्वतन्त्र वाम उम्मेदवार घनश्याम भुसालले प्रतिबद्धतापत्र सार्वजनिक गर्दै भन्नुुभयो, ‘देवदहलाई लुम्बिनी र भैरहवा स्थितगौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थल सँग जोडेर पर्यटकीय र आर्थिक विकासलाई पछ्याउने गरि प्रतिबद्धतापत्र तयार पारिएको छ ।’
रुपन्देही–१ माप्रतिनिधि सभातर्फ स्वतन्त्र वाम उम्मेदवार भुसाल तथा प्रदेश १ (१)मा कांग्रेसका विश्वनाथ यादव र १(२) माकाँग्रेसकै अब्दुल रज्जाक उम्मेदवार हुनुुहुन्छ । उहाँहरुले रुपन्देही १ मा समानुपातिक ढंगले बिकास गर्दै पाँचवर्ष भित्रमा विकासका पूर्वाधारहरुको निर्माण गरि दश वर्ष भित्रमा रुपन्देही १ ले अलग्गै पहिचान दिन सक्ने क्षेत्रको रुपमा परिणत गर्ने प्रतिबद्धता जनाउनुु भएको छ । भुसालका अनुसार, देवदह बुद्धको मावली स्थल भएको प्रमाणित भएपनि वैज्ञानिक रुपमा पुष्टि गरि युनेस्को मार्फत् विश्व सम्पदा सूचिमा सुचिकृत गर्न जरुरी छ । प्रतिबद्धता पत्रमा रुपन्देही १ मा बिशेष गरि सिंचाई, कृषि, तटबन्धन, शिक्षा, स्वास्थ्य लगायत आर्थिक विकास र भौतिक पूर्वाधार विकासमा विशेष जोड दिइएको छ । कृषि उत्पादनमा बृद्धि गरि उत्पादित कृषि उपजलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट खाडी लगायतका मुलुकमा निर्यात गरेर आर्थिक उन्नती गर्नमा पहल गरिने उल्लेख छ । स्वस्थ्य तर्फ पालिकास्तरीय अस्पताल निर्माण गर्ने र प्रत्येक वडामा स्वास्थ्य चौकी बनाउने भनिएको छ । प्रतिवद्धतापत्रमा अव्यवस्थित बसोबासी र भूमिहीनहरुको समस्या सधैंका लागि अन्त्य गर्ने भनिएको छ । सुरु भएका सडक निर्माण सक्ने, स्तरोन्नति गर्ने र देवदहलाई उच्चस्तरीय एवम् आधुनिक सडक सञ्जालबाट जोड्ने, हरेक वडामा बालउद्यान र ज्येष्ठ नागरिक मिलन केन्द्र बनाउने उल्लेख छ । युवालाई सीप मूलक तालिम दिने, सीप सिकेका युवाहरूलाई रोजगारीमा जोड्ने भनिएको छ । निर्वाचन क्षेत्र भित्र औद्योगिक क्षेत्र र देवदह मण्डप बनाउने भनिएको छ ।



