तिलोत्तमा । सत्तारुढ गठबन्धनको साथ पाएका राष्ट्रिय जनमुक्ति पार्टीका रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार केशवबहादुर थापा सुर्यबंशीले लोकतन्त्र र संविधानको रक्षा, विकास र समृद्धिका लागि सत्तारुढ गठबन्धनको जित आवश्यक रहेको बताएका छन् । उनले यो गठबन्धन सबै नेपालीको जीवन सहज र सार्थक बनाउन, शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी गर्न र विकास–निर्माणका लागि बनेको दावी गरे । रुपन्देही क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उम्मेदवार सुर्यबंशीले विहिवार तिलोत्तमा नगरपालिका वडा नम्बर ६ को घरदैलो कार्यक्रममा बोल्दै जनताका लागि र मुलुकको विकासका लागि हातेमालो गरेर अघि बढीरहेको जिकिर गरे ।
‘गठबन्धनले मुलुकलाई सही दिशामा लैजानुका साथै शान्ति र राजनीतिक स्थिरता कायम गर्छ’, उनले मुलुकलाई राष्ट्रिय सहमतिका साथ अघि बढाउन पनि सत्तारुढ दलहरु संग मिलेर चुनावमा लड्नु परेको दावी गरे । थापा सुर्यबंशीले आफूहरुले चुनाव जितेमा रोजगारीको अवसर सृजना गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रलाई सुलभ बनाउने, औद्योगिकीकरण, वन र वातावरणको संरक्षण गर्दै मुलुकलाई समृद्ध बनाउने आश्वासन समेत दिए । तिलोत्तमान गरपालिकाको वडा नम्बर ६ मा अधिकांश ग्रामिण क्षेत्र रहेकाले यहाँका किसानलाई आवश्यक पर्ने कृषि सामाग्रीहरु सहुलियत मुल्यमा उपलब्ध गराउन आफुहरु प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता तथा रुपन्देही क्षेत्र नं. २ अन्तरगत (१) बाट प्रदेश सभा सदस्य पदमा सत्ता गठबन्धनका साझा उम्मेदवार दीर्घबहादुर (कुमार) केसीले रुपन्देहीबाट प्रदेशको राजधानी दाङ सार्नेलाई यो पटक मत नदिन मतदातालाई आग्रह गरेका छन् । कांग्रेसले लुम्बिनी प्रदेशको अस्थायी मुकाम रुपन्देहीमा तोकेको अवस्थामा प्रदेश सभाबाट राजधानी दाङ सार्न आफ्ना प्रतिस्पर्धीले भूमिका खेलेको भन्दै त्यस्ता उम्मेदवारलाई सवक सिकाउन भए पनि यो पटक मत दिन नहुुने उनले बताए ।
लिला गिरीले लुम्बिनी प्रदेशको राजधानी दाङ सार्न प्रदेश सभामा प्रस्तावक भएर हस्ताक्षर गर्दा हामी रुपन्देहीमा राजधानी हुनुपर्छ भनेर आन्दोलन गरिरहेका थियौं,’ कांग्रेस नेता केसीले ‘रुपन्देहीको बिकासका लागि को प्रतिबद्ध छ भन्ने कुरा मतदाताले बुुझ्ने बेला यही हो ।’उनले संविधानको रक्षा गर्न कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको र अब देसको बिकास पनि गठबन्धनबाट सम्भव भएको जनाए । आफू बिजयी भए मतदाताको सिर निहुुरिने गरी कुनै पनि काम नगर्ने र जनचाहाना अनुसार आफ्नो क्षेत्रको बिकासमा लाग्ने प्रतिबद्धता उनको छ ।



