बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको बताएकी छन् । उनले व्यापार घाटा बढिरहेको, आयात नियन्त्रण नभै झनै बिस्तार भएको र मुद्रा सन्चितीमा अभूतपुर्व चाप परेको भन्दै अर्थतन्त्र गम्भीर चुनौतीको अवस्थामा रहेको बताइन् ।
रुपन्देही उद्योग संघले बुटवलमा आयोजना गरेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले स्थानीय कच्चा पदार्थमा आधारित उद्योगका उत्पादनले आयात प्रतिस्थापन, रोजगारीका नयाँ अवसर सिर्जना गर्न र निर्यात पर्वद्धन पनि गर्न सकिने बताइन् ।
मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउन आयात प्रतिस्थापन गर्ने खालका वन पैदावार र जडिबुटीजन्य उद्योग स्थापनामा जोड दिनुपर्ने र निर्यात बढाउनुपर्ने उनको भनाई छ । अब जडिबुटीजन्य एवं वन पैदावारमा आधारित उद्योग स्थापनातर्फ केन्द्रित हुन र निर्यात बढाउने दिशामा लाग्न म सम्बन्धित निकायलाई ध्यान दिन आग्रह गरिन् ।
रुपन्देही उद्योग संघ, लुम्बिनी उद्योग परिसंघ र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा बिहीबारदेखि बुटवलमा सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि एवं पर्यटन महोत्सवको उदघाटन गर्दै राष्ट्रपति भण्डारीले खेतीयोग्य जमिन बाँझो नराख्नका लागि युवा जनशक्तिलाई कृषि क्षेत्रमा लगाउनुपर्ने र कृषिजन्य उत्पादनलाई बढाउन सके व्यापार घाटा कम गर्न सकिने बताइन् । गृहमन्त्री बालकृष्ण खाणले बैंक तथा वित्तिय संस्थामा बृद्धि भईरहेको व्याजदर घटाउन आग्रह गर्दै त्यसो नभएमा सरकारले हस्तक्षप गर्ने बताए । मुलुकमा भईरहेका आर्थिक मन्दिका कारण उद्योग व्यापार व्यवसाय पलायन हुने अवस्था आएको बताउँदै खाणले बैंक तथा वित्तिय संस्थालाई गम्भिर बन्न आग्रह गरेका छन् ।
‘उद्योगी व्यवसायीका समस्या सम्बोधन गर्ने र समाधान गर्ने सरकारको दायित्व हो ।’ गृहमन्त्री खाँणले भने–‘तपाईहरुको साथमा सरकार र सरकारका सबै अंगहरु हुनेछन् भन्ने विश्वास दिलाउन चाहन्छु, यो हामी सबैको साझा दायित्व हो ।’ उनले विकासका काममा आफ्नो पनि प्रयत्न रहेन विश्वास दिलाए । त्यस अवसरमा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलम लगायतले शुभकामना व्यक्त गरेका थिए ।
‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’ भन्ने मूल नाराकासाथ बुटवल मण्डपमा आयोजना गरिएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा विभिन्न १० वटा पेभिलियनमा ४५० स्टल राखिएको छ ।



