बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पद तथा गोपनियताको शपथ लिनुभएको छ । नेकपा माओवादीसहितका राजनीतिक दलको समर्थनमा बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनियताको शपथ लिनुभएको हो ।
नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रमुख शेरचनले उहाँलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
तीन मन्त्रीले लिए शपथ
आफूले पद तथा गोपनियताको शपथ लिएपछि मुख्यमन्त्री चौधरीले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । उहाँले तीन मन्त्रीलाई शपथ गराउनु भएको हो ।
माओवादी केन्द्रबाट धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता सन्तोषकुमार पाण्डे र नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धर्मराज चौधरी मन्त्री हुनुभएको हो । मन्त्रालयको टुंगो नलागेकाले उहाँहरुले बिना विभागीय मन्त्रीको रुपमा शपथ लिनु भएको हो ।



