बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले आफ्ना सदस्यहरुलाई कर शिक्षा एवम् लेखा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा इक्यानको सदस्यता प्राप्त गरेका शैक्षिक परामर्श व्यवसायीलाई कर शिक्षा,करको दायरा, नीति, छुटको व्यवस्था ,व्यवसाय कर लगायतका विषयमा जानकारी गराइएको थियो ।
कार्यक्रममा इक्यान केन्द्रिय अध्यक्ष शेषराज भट्टराईले इक्यान सदस्यहरुको आफ्नै कोड अफ कन्डक्ट छ, त्यसमा रहेर इक्यान सदस्यले विद्यार्थी तथा अभिभावकलाई सत्यतथ्य जानकारी तथा परामर्श प्रदान गर्नुपर्ने बताउनुभयो । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीले इक्यानमा आबद्ध परामर्शदातृ संस्थाबाट परामर्श लिँदा सही सूचना पाउने गर्छन् ।
इक्यान आबद्ध सदस्य संस्थाहरुलाई इक्यानले सधैं नजिकबाट हेरिरहेको हुनाले कुनै कन्सल्टेन्सीहरुले गलत गरेको जानकारी पाएमा इक्यानले त्यसलाई नजिकबाट अनुगमन गर्छ, र गल्ती गरेको लागेमा कारबाहीका लागि सरकारलाई सिफारिससमेत गर्ने हुँदा इक्यान सदस्यहरु अनुशासनमा रहेर व्यवसाय सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
इक्यान रुपन्देही अध्यक्ष गिरीराज पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इक्यान केन्द्रिय निबर्तमान अध्यक्ष प्रकाश पाण्डे र कोषाध्यक्ष आशिक कार्कीले करदाता शिक्षाको बारेमा प्रशिक्षण दिनुभएको थियो । कर सम्बन्धि प्रशिक्षण पश्चात व्यवसायी बीच अन्तरक्रिया समेत भएको थियो । अन्तरक्रियामा उठेका सुझावहरुलाई कार्यक्रमका प्रशिक्षक प्रकाश पाण्डेले कर शिक्षाको बारेमा प्रष्ट्याउनु भएको थियो । प्रशिक्षण कार्यक्रममा व्यवसायीले कारोबारको लेखा कसरी राख्ने, बिल, बिजक कसरी जारी गर्ने, कति कारोबार हुनेले कस्तो विवरण पेश गर्ने, विवरण तथा कर दाखिला कहिले गर्ने लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा एन. एम. बि. बैङ्क लुम्बिनी र कर्णाली प्रदेश प्रमुख युवराज पाठकले इक्यान सदस्यहरुसंग सधै हातेमालो गरेर जाने भन्दै बैंकिङ सम्बन्धी कुनै समस्या भएमा सहजीकरण गर्ने बताउनुभयो । कार्यक्रम इक्यान रुपन्देही सचिव गोविन्द बस्नेतको सञ्चालनमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा संस्थाका कोषाध्यक्ष दिपेश अर्यालले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो ।



