बुटवल । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको ५७ औं स्थापना दिवसको अवसरमा देशभर रहेका १४ वटा इकाईमा एकैसाथ क्तदान कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा बुटवल इकाईले पनि रक्तदान कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाएको छ ।
रक्तदान जीवनदान हो भन्ने भावनाका साथ सदस्यहरूको सक्रिय सहभागिताले सम्पन्न भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथी संघका केन्द्रिय उपाध्यक्ष बिष्णु प्रसाद ढकालले ब्यानर पढेर गर्नु भएको थियो । कार्यक्रममा बोल्दै ढकालले यस सस्थाले स्थापनाकालदेखि नै विभिन्न सामाजिक कार्यहरू गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा संस्थाका सामाजिक गतिविधिहरूलाई अझ विस्तार गर्दै समाजसेवाका क्षेत्रमा थप अग्रसर हुनुपर्ने बताउनुभयो ।उहाँले स्वास्थमा राम्रो प्रभाव पर्न र शरीरमा नयाँ रक्तकोष निर्माण भएर स्वास्थ्य सुधार हुने र अरुको जीवन बचाउने अवसर मिल्ने हुँदा सबैले नि शुल्क रक्तदान गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला अध्यक्ष अर्जुन पान्डेले जागिर सँगै सामाजिक कार्यलाई पनि प्राथमिकता दिँदै आएको बताउदै रक्तदान कार्यक्रम हाम्रो सामाजिक प्रतिबद्धताको एउटा सानो कदम भएको बताउनुभयो ।
सो कार्यक्रममा केन्द्रिय सदस्य रबिन बस्याल, बुटवल इकाइका विबर्तमान अध्यक्ष राजबन्धु लामिछाने, रक्त सन्चार सेवा केन्द्र का प्रमुख राधा ज्ञवाली लगायतले शुभकामना ब्यक्त गर्दै संघहरूले यस्ता रचनात्मक र सामाजिक कार्य गर्नु अत्यन्त सराहनीय रहेको बताउनु भयो ।
कार्यक्रममा ३७ जनाले रक्तदाताहरूले रक्तदान गरेका थिए । रक्तसञ्चार केन्द्र बुटवलसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रमले स्थानीय स्तरमा रक्तदानको महत्वबारे जनचेतना फैलाउने अपेक्षा गरिएको कार्यक्रम संयोजक कमल भट्टराईले बताउनु भयो ।
कार्यक्रममा संघका पदाधिकारी, सदस्यहरू तथा सर्वसाधारणले उत्साहपूर्वक सहभागिता जनाएका थिए । इकाईका अध्यक्ष अर्जुन पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत कमल भट्टराई र सञ्चालन संघका बुटवल इकाई सचिव निर्मल डुम्रेले गर्नुभएको थियो ।



