तिलोत्तमा । तिलोत्तमा नगरपालिकामा तिलोत्तमा मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु भएको छ । नवजीवन क्लबको आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा जित निकाल्दै वार्ड नम्बर १६ले विजयी सुरुवात गरेको छ । वार्ड नम्बर १६ले वार्ड नम्बर ८ लाई ६१ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी यात्रा सुरुवात गरेको हो ।
तिलोत्तमा नगरपालिकामा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको वडा नम्बर १६ ले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १ सय २९ रनको बिशाल लक्ष्य खडा गरेको थियो । उसका लागि अनुराग थापाले आकर्षक ब्याटिङ गर्दै ४६ रनको योगदान दिए । म्यान अफ द म्याच समेत रहेका थापाले ४६ रन र १ विकेट लिएका थिए ।
त्यसैगरी सम्भु कार्कीले २१ रनको योगदान दिए । बलिङगमा वडा नम्बर ८ का निश्चल पराजुली र राहुल भण्डारीे समान ३–३ विकेट लिए ।
प्रतिउत्तरमा वाड नम्बर ८ ले १५.१ ओभरमा १० विकेटको क्षतिमा ६८ रन मात्रै बनाई हार व्यहोर्न पुग्यो । वाड नम्बर ८ का आकास बरालीले १७ र सुमन ज्ञवालीले १५ बाहेक अरु कसैले दोहोरो अंकको योगफल बनाउन सकेनन् । वाड नम्बर ८ लाई सस्तैमा रोक्ने क्रममा वडा नम्बर १६ का सौरभ बस्याल र रिशन भण्डारीले समान २÷२ विकेट लिए भने अनुराग थापाले १ एक विकेट लिए ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले खेलाडी बन्नेहरुका लागि यो प्रतियोगिता उत्प्रेरणााको स्रोत हुने बताए । उनले खेलले आफ्नो ठाउँ, नामलाई चिनाउन मद्दत गर्ने जनाए । ‘क्रिकेटको पवद्र्धन गर्न यो प्रतियोगिता महत्वपूर्ण छ । खाणले खेलमा अनुशासन जरुरी रहेको जनाउँदै सबै खेलाडीहरुलाई अनुशासनको पालना गर्न आग्रह गरे ।
नवजीवन क्लबले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा तिलोत्तमा नगरपालिकाका १७ वडा मध्ये १५ वटा वडाले सहभागिता जनाएका छन् भने वडा नम्बर १२ र १५ ले भाग जनाएका छैनन । आयोजक क्लबका सचिव सागर पाठकका अनुसार प्रतियोगितामा १५ टोलीले मात्र भाग लिएकोे बताए । तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोगमा अन्य ब्यबस्थापन खर्च क्लबले गर्ने गरी आयोजना हुन लागेको सो प्रतियोगिताको पुरा अनुमानित खर्च ६ लाख गरिएको छ। नगरपालिकाको ४ लाख रुपैया सहयोग र अन्य खर्च आन्तरिक स्रोत बाट जुटाउने गरि क्लबले सो प्रतियोगिता आयोजना गर्ने जमर्को गरेको हो। सो खेलले यस नगर क्षेत्रका खेलाडीको प्रतिभा प्रस्फुटन हुने र देशका लागि खेलाडी उत्पादन गर्ने लक्ष्य रहको क्लबका सचिव सागर पाठकले बताए ।
प्रतियोगितामा विजेता हुने टोलीले रु ५० हजार सहित कप, पदक तथा प्रमाणपत्र पाउने आयोजक संस्थाका अध्यक्ष गोविन्द भुसालले बताए । उपविजेताले रु २५ हजार, म्यान अफ दी सिरिजले, इमर्जिङ प्लेयरले र उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, उत्कृष्ट विकेटकिपर, उत्कृष्ट फिल्डरले नगद उपहार तथा प्रत्येक खेलको म्यान अफ दी म्याचले र छक्का बल बाहिर समात्ने दर्शकले समेत रु १ हजार नगद पुरस्कार पाउने भएका छन् ।
आज भएको खेलमा बाउन्ड्री बाहिर क्याच गरेर तिलोत्तमा १६ निवासी कृष्ण प्रसाद भण्डारीले १ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।आजको खेलको बाउण्ड्री प्रायोजन दर्शन ट्रेड लिङकले गरेको थियो । त्यसैगरी भोली २ वटा खेल हुने आयोजकले जनाएको छ । पहिलो खेल वडा नम्बर ६ र वडा नम्बर १४ बिच हुने र दोस्रो खेल वडा नम्बर २ र वडा नम्बर ७ बिच हुने आयोजक नवजीवन क्लबका सचिव सागर पाठकले जानकारी गराए ।



