भैरहवा । खेतीपाती लगाउँदा होस् या स्याहार्दा, घर परिवारका सदस्यले नसकेपछि गाउँ घरमा अर्मोपर्मो (आलोपालो) र ज्याला दिएर खेताला लगाउने परिपाटी अहिले पनि छ । तर खेतिपातीमा मात्र होइन, अिीले राजनितिमा पनि ‘खेताला’ लगाउन थालिएको छ । उमेरले नेटो काटिसकेपछि र स्वास्थ्यले साथ नदिँदा पनि सत्ता लिप्सा नहट्दा खेताला लगाउने चलन सुुरु गरिएको हो । त्यस्तै, एउटा उदाहरण रुपन्देही क्षेत्र नं. ३ मा छ । पञ्च्यातदेखि सत्तामा रमाउँदै आएका राप्रपाका दीपक बोहोरा अहिले उनका नजिकका सहकर्मीको भनाइअनुसार ‘भ्वाईस रेष्ट’मा छन् । तर पनि प्रतिनिधिसभा उम्मेदवार बनेका छन् ।
बोहरा अहिले बोल्न नसक्ने भएकाले आफ्ना कुरा मतदातासम्म पुुर्याउन खेताला प्रयोग गर्नुु परेको हो । अहिले प्रचारमा त आफ्ना कुरा राख्न अरुलाई गुुहार्नुु पर्ने अवस्थामा भोलिका दिनमा जनताका समस्या सदनमा कसरी राख्ने ? जनताको गुनासा र माग अरु निकायमा कसरी पुुर्याउने भन्ने प्रश्न धेरैले बोहरामाथि उठाउन थालेका छन् ।
शुुक्रबार मात्रै यहाँ हिमालय टेलिभिजनले निर्वाचनमा राजनीतिक दल र सांसदहरूको नीति विचार र ऐजेण्डाबारे आयोजना गरेको बहसमा एमाले नेतृत्वको गठबन्धनबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बोहरा आफ्ना धारणा राख्न आएनन् । बोल्न समस्या भएको देखाउँदै उनले ‘खेताला’ पठाए ।
बोहरा सांसद पदका उम्मेदवार भए पनि घाँटीमा बोल्न समस्या भएका कारण चुनावी प्रचार प्रसारका कार्यक्रममा पनि सहभागी भएर सहभागिले राखेका प्रश्नको जवाफ अर्कैलाई दिन लगाउँदै आएका छन् । यो विषय हिमालय टेलिभिजनको बहसमा पनि उठ्यो । कार्यक्रमको सुरुमा सहभागी उम्मेदवारले मूल मन्तव्य दिएपछि सहभागीलाई प्रश्न सोध्न भनियो ।
बहसमा प्रश्न सोध्ने क्रममा सहभागी हरिप्रसाद शर्मा न्यौपानेले निर्वाचनमा उम्मेदवारहरू र जनप्रतिनिधिले आफ्नो विचार आफै राख्नुपर्ने, तर बोल्न असमर्थ भएका कारण जनताको सेवा र हित गर्न नसक्ने, जिल्ला र देशकै विकासमा ठोस योगदान पुर्याउन जनताको आवाज संसदमा र संसदीय समितिहरूमा कसरी उठाउन सक्छन् भन्दै प्रश्न गरे । बोहराको सट्टामा अर्थात् ‘खेताला’ वक्ताका रुपमा सहभागी भएका पूर्वमन्त्री निरञ्जन थापाले यसबारेमा कुनै जवाफ दिएनन् । अन्य चुनावी सभाहरूमा पनि बोहराको तर्फबाट थापाले नै जनाफ दिँदै आएका छन् ।
कार्यक्रममा अर्का प्रश्नकर्ता मिलन बस्नेतले भलवारीमा रहेको आयल निगमको कार्यालय सार्न रोहिणी नदीको किनारमा जग्गा खरिद गर्दा भएको अनियमितताबारे प्रश्न गरे । त्यो जग्गा खरिद गर्दा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बोहरा थिए । बोहराको सट्टामा आएका थापाले यो प्रश्नको पनि जवाफ दिएन्न् । जग्गा खरिद प्रकरणमा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।
यो त एउटा टेलिभिजनको बहस कार्यक्रमको भयो । अहिले बोहरा गम्भीर स्वास्थ्य समस्यामा छन् । उनी बोल्न सक्दैनन् । यस्तो अवस्था पदका लागि मरिहत्ते गरेको भन्दै उनको सर्वत्र आलोचना भइरहेको छ । ९ पटक मन्त्री भएका बोहराले अहिलेसम्म रुपन्देहीको विकासमा देखिने गरी कुनै काम गरेका छैनन् । बरु मन्त्री हुँदा वन मास्न र आयल निगमको जग्गा खरिद जस्ता गम्भीर विषयहरुमा मुछिएका छन् । पंचायदेखि गणतन्त्रसम्म उनी रुपन्देहीबाट उम्मेदवार मात्रै बनेका छैनन्, जतिपटक मन्त्री भए त्यतिपटक उनीमाथि भ्रष्टाचार गरेको गंभीर आरोप छ ।
सधै सत्ता र शक्तिको वरिपरी हुने उनले भ्रष्टाचारमा कारबाही त भोगेका छैनन् तर आमजनमानसमा भ्रष्टाचार दागी चाहिँ भएका छन् । उनले अकुत सम्पत्ति आर्जन गरेको भन्दै पटकपटक आलोचना हुँदै आएको छ । आफ्नो कुरा प्रष्टसँग जनतामाझ राख्न समेत नसकिरहेका बोहराले निर्वाचन जिते क्षेत्रको विकास र जनताको आवाजलाई कसरी सम्बोधन गर्लान भन्ने जनमानसमा चासो र चिन्ताको विषय बनेको छ । बोहराका स्वीय सचिव धर्मबहादुर केसीले मंसिर १५ पछि बोहराको आवाज आउने दावी गर्दै आएका छन् । तर, उनको यो दावी माथि थुप्रै आशंका उब्जिरहेका छन् ।
पोष्ट कोभिड पछि बोहराको घाँटीमा गम्भीर समस्या भएको हो । उनको आवाज आउने–नआउने बारे अहिलेसम्म प्रष्टसँग कसैलाई थाहा छैन । यद्यपि जनमानसमा भ्रम छर्ने गरी मंसिरपछि आवाज आउँछ भनेर राप्रपा नेताहरुले झुट्टा प्रचार गरिरहेको स्वयं मतदाताहरु र उनी निकटहरु बताउँछन् । ‘उहाँले युवा पुस्तालाई अवसर दिनुपर्नेमा आफै सधै पदका लागि मरिहत्ते गरिरहनुभएको छ, गम्भीर विरामी पर्दासमेत बोहराजी उम्मेदवार बन्नु नै युवा पुस्ताका लागि दुखद् कुरा हो’, राप्रपाका एक युवा नेताले नाम नखुलाउने सर्तमा भने ।
बोहराले बोल्न नसकेपछि अहिले उनकातर्फबाट खेतलाका रुपमा प्रयोग गरिएकाहरुले जनतामाझ हुनै नसक्ने र झुट्टा आश्वासन मात्रै बाँड्दै हिंड्ने र प्रतिपक्षलाई अनावश्यक टिकाटिप्पणी गर्दै डिंडेपछि उनको पक्षमा रहेका कार्यकर्ता पनि धमाधर्म काँग्रेस प्रवेश गरिरहेका छन् । आवाज नआउनु, खेतला प्रयोग गर्नु, खेतालाले अनावश्यक रुपमा प्रतिपक्षलाई गाली गर्नुजस्ता कारणले बोहराको पक्षमा रहेको जनमत झन पछि झन विचलित हुँदै गएको छ ।



