खेमानन्द पाठक । कपिलवस्तु – खडेरीसँगै बढेको तापक्रमले कपिलवस्तु किसानहरुले लगाएको धानको बिउ सुकेको छ । अत्यधिक गर्मीसँगै परेको खडेरीले किसानहरूले राखेको धानको ब्याड चिराचिरा परेका छन । यसले किसानहरूलाई चिन्तित बनाएको छ । वाणगंगा नगरपालिका– ११ का दधिराम काफ्लेले मानो रोपेर मुरी फलाउने बेला हो हामी किसानहरूको असार महिना असार लागि सक्यो पानीको थोपो परेको छैन, जनतन दुःख गरि गरि १०००÷१२०० प्रति के.जी.पर्ने हाइब्रीट उन्नत जातको बीउ किनेर राख्यो त्यो पनि नउम्रेर टाउको समाइ भएको गुनासो गर्नुभएको छ ।
आज सम्म हामी किसानीलाई सरकारको तर्फबाट नत समयमा कुनै बिउ बीजन पाएका छौं । नत मल खाद नत कुनै कृषि सामग्री नै उपलब्ध हुने गरेको छ । ५÷६ घन्टा तातो घामको लाइनमा बसेर बल्ल बल्ल उपलब्ध भएको अलि कति मल खाद छरी दुःख गरि गरि राखेको र बल्ल बल्ल उम्रेको निकै महँगो धानको बिउ पनि तातो लु (तातो हावा) र चर्को घामले सुकाएर हामी सम्पुर्ण किसानहरूलाई निकै चिन्तित र दुखित बनाएको उहाँको गुनासो छ ।
गर्मीका कारण घरबाहिर निस्किन समस्या छँदै छ, चापाकलमा समेत पानी आउन छाडेको वाणगंगा नगरपालिका– ११ उत्तर चेतियाका स्थानीयहरू बताउँछन् । यो क्षेत्रमा चापाकल सुकेको कारण छिमेकीको घरबाट पानी ल्याउने गरेको उनीहरूको भनाइ छ । ब्याड राख्ने समयमा खडेरी परेका कारण अब समयमा धानको बिउ राख्न नसकिने वाणगंगा नगरपालिकाका किसान सोमई चौधरीले दुखेसो पोखे । १५ असारमा रोपाइँ गर्न १५ जेठसम्म बिउ राखिसक्नुपर्ने हो ।
पानी नपरे पनि जिल्लाका करिव ६० प्रतिशत किसानहरूले धानको बिउ राखिसकेको कृषि ज्ञानकेन्द्र कपिलवस्तुका सुचना अधिकारी चन्द्रमान गुप्ताले बताउनु भयो । पानी नपरेर चिन्तित बनेका किसानहरूले पम्पसेटबाट सिँचाइ गरेर धानको बिउ राखेका हुन्। पानी नपरेकाले केही किसानहरूले ब्याडमा पम्पसेटबाटै पानी लगाएका छन् उहाँले भन्नु भयो ।
गर्मीसँगै परेको खडेरीले चापाकालहरू समेत सुक्न थालेपछि ब्याडमा पानी राख्नसमेत समस्या भएको कृषि ज्ञान केन्द्र कपिलवस्तुका कार्यालय प्रमुख डा. रविन्द्रनाथ चौवेले बताउनुभयो । चापाकालहरू समेत सुक्न थालेपछि पम्पसेटबाट पनि सिँचाइ गर्न नपाउँदा ब्याड चिराचिरा पर्न थालेको उहाँको भनाई छ । उहाँले कपिलवस्तु जिल्लामा विगतका वर्षमा ७१५०० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको बताउनु भयो ।
विगतका वर्षहरूमा सामान्य पानी परेपछि जेठको अन्तिम साताबाट धान रोपाई सुरु हुने गरेको थियो । तर अहिले पानी पर्ने सम्भावना नदेखिएकाले यसवर्ष उचित समयमा रोपाई सुरु हुन नसक्ने र धान उत्पादनमा कमी आउन सक्ने कृषि ज्ञान केन्द्र कपिलवस्तुले जनाएको छ ।
तर पनि अझै २–४ दिनमा पानि पर्न लागेमा पुन धानको बिउ राखेर साउन १५ सम्म रोपाई सकेमा धान उत्पादनमा कमि नहुने कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख रविन्द्रनाथ चौवेले बताउनु भयो ।



