बुटवल – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले टेबुल क्यालेण्डर बिमोचन तथा नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन गरेको छ ।
कार्यक्रममा क्यालेन्डर बिमोचन गर्दै इक्यानका केन्द्रीय अध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रयु) ले शैक्षिक परामर्श क्षेत्रलाई अझ व्यवस्थित र मर्यादित बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याउँदै नयाँ वर्षले सम्पूर्ण सदस्यहरूमा थप ऊर्जा र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयोे । उहाँले शैक्षिक परामर्श दाताहरुलाई थप मर्यादित बनाउनका लागि प्रदेशस्तरमा कानून निर्माणको खाँचो रहेको बताउनुभयो । शैक्षिक परामर्श दाताहरुलाई सरकारले हेर्ने दृष्टिकोण सकारात्मक नभएको गुनासो गर्दै पौडेलले आवश्यक नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै इक्यानका प्रथम उपाध्यक्ष बासुदेव दाहालले शैक्षिक परामर्श व्यवसायीहरुले गरेको कार्य सत्कर्म मध्ये एक भएको बताउनु भयो । देशभर ३ वटा प्रदेशले मात्र शैक्षिक परामर्श व्यवसाय सञ्चालन गर्न अनुमति प्राप्त प्रदान गर्न आवेदन खुलाएको उल्लेख गर्दै लुम्बिनी प्रदेशले पनि व्यवसाय सञ्चालन गर्न अनुमति प्रदान गर्न आवेदन खुलाउन आग्रह गर्नुभयो ।
निवर्तमान अध्यक्ष गिरिराज पाण्डेले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी कार्यविधि’ अनुमति पत्र जारी गर्ने प्रक्रिया सुचारु गर्न लुम्बिनी प्रदेश सरकार समक्ष आग्रह गर्नुभयो । लुम्बिनी प्रदेशमा यथाशीघ्र यो प्रक्रिया थाल्न सकियो भने शैक्षिक परामर्श क्षेत्र नियमनमा आउने मात्र होइन, गुणस्तरयुक्त सेवातर्फ पनि उन्मुख हुने बताउनु भयो ।
कार्यक्रममा जेसर्ट बुटवल व्यवस्थापक राजेन्द्र श्रेष्ठ, इक्यान रुपन्देही सल्लाहकार गोविन्द राज अधिकारी, निशानबावु कार्की, टन्क पाण्डे लगायतले शुभकामना व्यक्त गर्दै सहि किसिमको परामर्शले गर्दा विद्यार्थीहरुलाई वैदेशिक अध्ययनमा सहजीकरण हुने हुनाले शैक्षिक परामर्श व्ययसायीहरु पनि आफ्नो मर्म अनुसार कार्य गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा इक्यानका पदाधिकारीहरू तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
इक्यान रुपन्देहीका अध्यक्ष गोविन्द बस्नेतको अध्यक्षतामा भएको कार्यक्रम कोषाध्यक्ष रामचन्द्र खरेलकोे स्वागत र उपाध्यक्ष दिपेश अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।



