भैरहवा । रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले गृहमन्त्री बालकृष्ण खाँणले निस्पक्ष, धाधलिरहित एवं भयरहित बातावरणमा निर्वाचन सम्पन्न गराउन सहयोग गरेको भन्दै धन्यबाद दिएका छन् । आफूले निर्वाचन हारेर पनि प्रजातन्त्रलाई जित दिलाएको भन्दै उनले जिल्लामा विभिन्न दलबाट राष्ट्रिय राजनीतिमा स्थापित नेताहरु उम्मेदवार रहेकाले मुलुकभरिको चासो रहेकाबेला गृहमन्त्रीले निर्वाचन शान्तिपूर्ण रुपमा पूरा गराएको समेत बताए । ‘सुरक्षा प्रबन्ध व्यवस्थित नभएको भए सहज तरिकाले निर्वाचन सम्पन्न हुने थिएन,’ मंगलबार बिहान जिल्ला प्रशासनमा आयोजित पत्रकार सम्मेलनमा कोइरालाले भने, ‘ यसकोलागी गृहमन्त्री र गृहप्रशासनबाट कुनै कमी भएन । त्यसका लागि गृहमन्त्रीलाई धन्यवाद छ ।’
पाँचवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा असोज १५ गते निर्वाचन पक्रिया सुरु भएको थियो । ‘मंसिर ११ गते निर्वाचनका सबै काम पूरा भइसके,’ उनले भने, ‘जिल्लामा उपलब्ध संशाधन प्रयोग गरेर निर्वाचन पूरा गर्यौं, हाम्रो कामप्रति कसैबाट असन्तुष्टि छैन ।’ प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले निर्वाचन आयोगको तालिका अनुसार जिल्लाका पाँचवटै क्षेत्रमा निर्वाचन कार्यक्रम सकिएको जानकारी दिए ।
‘निर्वाचन अवधिभर असन्तुष्टि आउने कुनै काम भएनन्,’ उनले भने, ‘सीमा जोडिएको, धेरै मतदाता रहेको र चर्चित व्यक्ति उम्मेदवार रहेको जिल्लामा व्यवस्थित चुनाव सम्पन्न भएको छ ।’ उनका अनुसार जिल्लामा ६ लाख ३८ हजार ९ सय ५२ मतदाता थिए । ती मध्ये ४ लाख ३३ हजार ४ सय ४९ जनाले मतदान गरेका थिए । मुख्य निर्वाचन अधिकृत कोइरालाले र प्रमुख जिल्ला अधिकारी पाण्डेले सबै क्षेत्रको साथ र सहयोगले निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र स्वच्छ तरिकाले सम्पन्न गर्न सफल भएको बताए ।



