भैरहवा । नेपाल कमर्शियल आर्टिष्ट संघ रुपन्देहीले भैरहवालाई “ग्रीन सिटी क्लिन सिटी” बनाउनको लागि पुष्परोपण गरेको छ । भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेश नगरी सिद्धार्थनगरको लुम्बिनी गेटमा पुष्परोपण गरिएको हो ।
भैरहवा–लुम्बिनी पर्यटक मार्गलाई हराभरा र सुन्दर बनाउनको लागि पुष्परोपण कार्यक्रम गरिएको नेपाल कर्मशियल आर्टिष्ट संघ रुपन्देहीले जनाएको छ । संसारको आस्थाको केन्द्र रहेको लुम्बिनी प्रवेश गर्ने मार्ग तथा प्रवेशद्वारको वरिपरी पुष्परोपण अभियानले सिद्धार्थथगर नगरपालिकाको अभियानलाई सहयोग पुग्नुको साथै आगन्तुक पर्यटकहरुका लागि आकर्षण बनाउने विश्वास लिएको छ । सिद्धार्थनगर नगरपालिकाका उप–प्रमुख उमा अधिकारीले लुम्बिनीको सामिप्यमा रहेका कला प्रेमीहरुले शुरु गरेको पुष्परोपनले सिद्धार्थनगरलाई सकारात्मक सन्देश प्रवाह हुने बताउनु भयो ।

पुष्प रोपण कार्यक्रमले शान्तिक्षेत्रमा सुन्दरता थपेको छ । उपप्रमुख अधिकारीले भन्नुभयो, “मेरो बाल्यकालदेखि नै मनपर्ने क्षेत्र आर्ट (कला) हो ।” उहाँले सिद्धार्थनगरका सबै वडा कार्यालय, स्कूल तथा सार्वजनिक स्थलमा हाते पेन्टिङलाई प्राथमिकतामा राखिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । नेपाल कर्मशियल आर्टिष्ट संघ र सिद्धार्थनगर नगरपालिकाले कला क्षेत्रको विकासका लागि सहकार्य गरेर अगाडि बढ्न सकिने बताउनु भयो ।
कार्यक्रममा समाजसेवी ओमकार गौचनले लुम्बिनी प्रवेशद्वारमा पुष्प रोपण गरी हराभरा बनाउने आर्टिष्ट संघको अभियान महत्वपूर्ण भएको भन्दै सधै सहयोगको लागि आफू तयार रहेको बताउनु भयो । उहाँले पर्यटकीय नगर भैरहवालाई सुन्दर बनाउनको लागि आर्टिष्ट संघले सुरुवात गरेकोमा खुशी व्यक्त गर्नुभयो । लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झाना शर्माले पुष्प रोपणको साथ साथै संरक्षणमा पनि ध्यान दिनु पर्ने बताउनु भयो ।
नेपाल आर्टिष्ट संघ रुपन्देहीका कोषाध्यक्ष विशन गुरुङ्गको संयोजकत्वमा भएको कार्यक्रममा सञ्चारकर्मी, स्थानीय, जनप्रतिनिधि, सुरक्षाकर्मी र आर्टिष्ट संघका सदस्यहरुको उपस्थित रहेको थियो । आर्टिष्ट संघका अध्यक्ष उज्जवल कुमार कायस्थको अध्यक्षता तथा राजन चौधरीको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरुले आर्टिष्ट संघले गरेको पुष्परोपण कार्यक्रमको प्रसंशा गर्नुभएको थियो ।



