बुटवल । मानव अधिकार तथा शान्ति समाज रुपन्देही सङ्क्रमणकालीन न्याय सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक संसद्मा दर्ता भएसँगै त्यसको विरोधमा सडकमा उत्रिएको छ ।
गम्भीर मानव अधिकार उल्लंघनलाई सामान्यीकरण गरेको तथा पीडकलाई छुटकारा दिन त्रुटिपूर्ण विधेयक ल्याइएको भन्दै समाजले सोमबार बुटवलमा सडक प्रदर्शन गर्दै खवरदारी गरेको हो ।
त्यसक्रममा सहभागीहरुले हिंसालाई बढावा दिन पाईंदैन, हिंसालाई संस्थागत गर्न पाइदैन, संशोधन विधेयक मानवअधिकार विरोधी विधेयक हो जस्ता प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय निवर्तमान सभापति एवं सल्लाहकार गोविन्द खनालले सङ्क्रमणकालीन न्याय जस्तो गम्भीर विषयमा कानून संशोधन गर्न पीडित तथा अन्य सरोकारवालासँग छलफल नगरी अपारदर्शी रूपमा विधेयक संसद्मा पेश गरेकोमा आपत्ति जनाउनु भयो ।
उहाँले सङ्क्रमणकालीन न्याय सम्बन्धी विद्यमान कानून संशोधनका लागि नेपाल सरकारले ल्याएको विधेयक त्रुटीपूर्ण रहेको भन्दै फिर्ता लिन माग गर्नुभयो । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले अहिलेकै अवस्थाको विधेयकले पीडितलाई पूर्ण रूपमा न्याय प्रदान नगर्ने र अन्तर्राष्ट्रिय कानून अन्तर्गत नेपालको दायित्व पनि पूरा नहुने बताउनुभयो ।
शान्ति समाजका केन्द्रीय सदस्य डिपि खनालले विधेयकले कुनै पनि घटनामा दण्ड नगर्ने जस्तो मनसाय देखिएको भन्दै यसबाट पीडकलाई उन्मुक्ति दिलाउने सरकारको सोच रहेको स्पष्ट हुने बताउनुभयो । समाजका रुपन्देही अध्यक्ष कृष्णप्रसाद भट्टराईले सरकारले ल्याएको यो विधेयक स्विकार्न नसकिने बताउनुभयो ।



