तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा जारी तिलोत्तमा मेयर कप टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत विहिवारको खेलमा तिलोत्तमा वार्ड नम्बर २ र तिलोत्तमा वार्ड नम्बर ६ विजयी भएका छन् । तिलोत्तमा वार्ड नम्बर २ ले वार्ड नम्बर ७ लाई ९१ रन र तिलोत्तमा वार्ड ६ ले वार्ड नम्बर १४ लाई ११४ रनले पराजित गरेको हो ।
तिलोत्तमा नगरपालिका वार्ड नम्बर ६ मा रहेको नवजिवन रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको वार्ड नम्बर २ ले निर्धारित खेलमा ६ विकेटको क्षतिमा १ सय ७६ रनको योगफल बनायो । जसमा सागर केसीले ३९ रन, निलेस थापाले ३८ रन र महेन्द्र सुवेदी क्षेत्रीले समान ३८ रन जोडे । बलिङमा वार्ड नम्बर ७ का सन्तोस क्षेत्री र सुरज क्षेत्रीले समान २÷२ विकेट लिए ।प्रतिउत्तरमा वार्ड नम्बर सात १५.४ ओभरमा अलआउट हुँदै ८५ रनमै समेटियो ।
उसका लागि सन्तोस क्षेत्रीले २८ र किरन पाठकले १८ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । उसलाई सस्तैमा रोक्न बलिङमा वार्ड नम्बर २ का महेन्द्र सुवेदी क्षेत्रीले ४ ओभर बलिङ गरेर मात्र १७ रन दिएर ४ र दिपक पाण्डेले २ विकेट लिएका थिए । वार्ड नम्बर २ का महेन्द्र सुवेदी क्षेत्री हक म्यान अफ द म्याच भएका थिए ।
दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको वार्ड नम्बर ६ ले निर्धारित खेलमा ६ विकेटको क्षतिमा १ सय ८१ रनको योगफल बनायो । जसमा थमन स्याङजालीले ५९ रन , विकाश अधिकारीले ५२ रन र सर्माट थापाले ५१ रन जोडे । बलिङमा वार्ड नम्बर १४ का सचिन केवटले ४ र प्रिन्स मल्लले १ विकेट लिए । प्रतिउत्तरमा वार्ड नम्बर चौध १४.५ ओभरमा अलआउट हुँदै ६७ रनमै समेटियो ।
उसका लागि विशाल सापकोटाले २५ र मनिस थापाले १५ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । उसलाई सस्तैमा रोक्न बलिङमा वार्ड नम्बर ६ थमन स्याङजालीले ४ विकेट र सुदिप बस्नेतले ३ विकेट लिएका थिए । वार्ड नम्बर ६ का थमन स्याङजाली प्लेयर अफ द म्याच भएका थिए ।
नवजीवन क्लबले आयोजना गरेको प्रतियोगितामा तिलोत्तमा नगरपालिकाका १७ वडा मध्ये १५ वटा वडाले सहभागिता जनाएका छन् भने वडा नम्बर १२ र १५ ले भाग जनाएका छैनन । तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोगमा अन्य ब्यबस्थापन खर्च क्लबले गर्ने गरी आयोजना हुन लागेको सो प्रतियोगिताको पुरा अनुमानित खर्च ६ लाख गरिएको छ । नगरपालिकाको ४ लाख रुपैया सहयोग र अन्य खर्च आन्तरिक स्रोत बाट जुटाउने गरि क्लबले सो प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएका छन् ।
पुस २८ गते सम्म जारी प्रतियोगितामा विजेता हुने टोलीले रु ५० हजार सहित कप, पदक तथा प्रमाणपत्र पाउने र उपविजेताले रु २५ हजार, नगद पुरस्कार पाउने छन् । त्यसै गरी प्रत्येक खेलको म्यान अफ दी म्याचले ट्रफि र छक्का बल बाहिर समात्ने दर्शकले समेत रु १ हजार नगद पुरस्कार पाउने छन् ।
यसैगरी भोली २ वटा म्याच हुने आयोजकले जनाएको छ । पहिलो म्याच वडा नम्बर ९ र वडा नम्बर १० बिच हुने र दोस्रो म्याच वडा नम्बर १३ र वडा नम्बर १७ बिच हुने आयोजक नवजीवन क्लबका सचिव सागर पाठकले बताए ।



