तिलोत्तमा । तिलोत्तमामा जारी तिलोत्तमा मेयर कप क्रिकेट प्रतियोगिता २०७९ मा वडा नं. ४ र वडा नं. १ विजयी हँुदै दोस्रो चरणमा प्रवेश गरेका छन् । तिलोत्तमा नगरपालिकाको आयोजना तथा नवजिवन क्लबको सहआयोजनामा नवजिवन खेलमैदानमा भएको पहिलो खेलमा वडा नं. ४ ले वडा नं ५ माथि ५२ रन तथा दोस्रो खेलमा वडा नं १ ले वडा नं ११ माथि २ रनको जित निकालेको हो ।
पहिलो खेलमा टस जितेर ब्याटिङको निर्णय गरेको वडा नं. ४ ले १९.४ ओभरमा सबै विकेट गुमाएर १ सय १८ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि शिखर चन्दले ३८ र सुरभ ढुङगानाले २३ रनको योगदान दिए । वडा नं. ५ का गणेश पंगेनीले ३ र सुनिल चौधरीले २ विकेट लिएका थिए । मध्यम लक्ष्य पछ्याएको वडा नं. ५ केवल १६.३ ओभरमा ६६ रनमा समेटियो । उसका लागि अजय कुँवरले २२ र प्रतिक भट्टराईले १३ बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन् । कम स्कोरमा रोक्न वडा नं ४ का धिरन राकेशले ४ र भुवन खत्रीले ३ बिकेट लिएका थिए ।
यसैगरी दोस्रो खेलमा वडा नं. १ ले टस जितेर ब्याटिङको निर्णय गर्दै निर्धारित २० ओभरमा सबै बिकेट गुमाएर केवल १ सय १८ रनको लक्ष्य खडा गरेको थियो । वडा नं. १ का विशाल न्यौपानेले ४१ र सुन्दर न्यौपानेले ३३ रनको योगदान दिएका थिए । वडा नं. ११ का सवित थापाले ६ तथा प्रेम थापाले १ बिकेट लिएका थिए ।
मध्यम लक्ष्य पछ्याएको वडा नं. ११ का ब्याट्सम्यानहरु पुरै ओभरमा १ सय १६ रनमात्र बनाउन सफल भयो । उसका लागि सुजन खरेलले ३३ र सुजन गिरीले २७ रनबाहेक अन्य ब्याट्सम्यान दोहोरो रन जोड्न सकेनन् । कम स्कोरमा रोक्न वडा नं १ का सुमन बश्याल र विपिन भट्टराई ले समान ३–३ विकेट लिएका थिए ।आजको खेलमा वार्ड नम्बर ४ का भुवन कार्की र वार्ड नम्बर १ विशाल न्यौपाने म्यान अफ द म्याच भएका थिए ।
पुस २८ गते सम्म जारी प्रतियोगितामा विजेता हुने टोलीले रु ५० हजार सहित कप, पदक तथा प्रमाणपत्र पाउने र उपविजेताले रु २५ हजार, नगद पुरस्कार पाउने छन् । त्यसै गरी प्रत्येक खेलको म्यान अफ दी म्याचले ट्रफि र छक्का बल बाहिर समात्ने दर्शकले समेत रु १ हजार नगद पुरस्कार पाउने छन् । आइतवार पहिलो खेल वडा नं २ र १६ तथा दोस्रो खेल वडा नं ६ र १७ का बीचमा हुने आयोजक नवजीवन क्लबका सचिव सागर पाठकले बताए ।



