भैरहवा । अग्रहरी सेवा समाज रुपन्देहीले आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभामा पाँच दलीय गठबन्धनका उम्मेदवार गृहमन्त्री बालकृष्ण खाणलाई मतदान गर्ने बताएको छ । समाजले शुक्रबार भैरहवामा कार्यक्रम गरेर प्रतिनिधि सभामा खाण र प्रदेश सभा ३ क मा गठबन्धनकै उम्मेद्वार सन्तोष पाण्डेलाई मतदान गर्ने घोषणा गरेको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष सियाराम अग्रहरीले मुलुकमा गणतन्त्र र संघीयतालाई संस्थागत गर्न तथा आमनागरिकको र उद्योगी व्यापारीले भोग्दै आएको समस्या समाधान गर्न खाण बाहेक अरुले नसक्ने निष्कर्षसहित मतदान गरेर प्रतिनिधि सभा सदस्यमा विजयी गराउने बताए । उनले भैरहवा र सिङ्गो रुपन्देहीको विकासमा अहिलेसम्म खाणको योगदान अतुलनीय रहेको र आगामी दिनमा त्यही विकासलाई निरन्तरता दिन खाणलाई मतदान गर्ने निष्कर्ष सुनाउदा हल तालीले गुञ्जायमान भएको थियो ।
खाण निर्वाचित भएर गएपछि आफूहरूले भोगिरहेका समस्या समाधान गर्न पहल कदमी लिनेमा आफूहरू आशावादी रहेको उल्लेख गरेका छन् । प्रतिनिधि सभा सदस्य उम्मेदवार खाण र प्रदेश सभा ३ क का उम्मेदार पाण्डे पनि कार्यक्रममा उपस्थित थिए । कार्यक्रममा गृहमन्त्री खाणले नागरिक, उद्योगी, व्यवसायी, मजदुर, किसान सबैले भोग्नुपरेका समस्या समाधान गर्न लागिपर्ने बताउनुभयो । नागरिकको सुख दुःखमा आफू सदैव साथमा रहने प्रतिबद्धता व्यक्त गरे ।



