बुटवल । जनवादी कलाकारहरुले राष्ट्रलाई सही बाटोमा हिडाउनका लागि ‘राष्ट्रका लागि सङ्गीत अभियात्रा’ सुरु गरेका कलाकारहरुले सोमबार बुटवलमा साङ्गीतिक प्रस्तुति दिने भएका छन् । आइतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी गराएका छन ।
यहि चैत ४ गते कैलालीको धनगढीबाट शुरु भएको ‘राष्ट्रका लागि सङ्गीत अभियात्रा’ भोलि चैत्र १३ गते दिउसो २ बजे रोज पार्टी प्यालेस कालिकानगर बुटवल रुपन्देहीमा हुने बताएका छन् ।
अभियान अन्तर्गतका ती कार्यक्रमहरुमा वरिष्ठ जनगायकहरुदेखि प्रगतिशील धारका उदीयमान कलाकर्मीसम्मले प्रस्तुति दिने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । वरिस्ठ जनगायक जीवन शर्मा, मणि थापा, उदय श्रेष्ठ, चिरन सीको प्रस्तुति रहने बताइएको छ । यस्तै कार्यक्रमहरुमा जनगायक तथा जनकलाकारहरु नारायण शर्मा, कुस्मिता दर्लामी, कर्ण गौतम “विद्रोही”, मोहित श्रेष्ठ, उदय रिजाल ,प्रगति महरा,निलिमा पुन, सन्धा मगर, कविता पुन, अनु शर्मा र निशा बुढामगर लगायतको प्रस्तुति रहने छ ।
सम्बन्धित क्षेत्रको कार्यक्रममा त्यस भेगमा क्रियाशील जनवादी तथा प्रगतिशील कलाकारहरुको प्रस्तुतिलाई समेत समावेश गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा वरिष्ठ प्रगतिवादी गीतकार तथा संगीतकार मणि थापा, वरिष्ठ जनगायक उदय श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । पत्रकार सम्मेलनमा झण्डै दुई दर्जन जनवादी कलाकारहरु र जनसंगीतप्रेमी श्रोताहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रम आगामी वैशाख ५ गते काठमाडौँमा समापन गरिनेछ ।



