बुटवल । बुटवलको जितगढीमा नेपाल–अंग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय हासिल गरेको खुशीयालीमा बिहीबार जितगढी उत्सव मनाइएको छ । १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको थियो । सोही खुशीयालीमा बुटवल उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरी जितगढी उत्सव मनाएको हो । बिहीबार जितगढी उत्सवका अवसरमा जितगढी उत्सव मूल समारोह, गोरखादेखि पैदलयात्रामा आएको नेपाली सेनाको टोलीलाई स्वागत तथा पैदल यात्रा समापन गरिएको छ ।
बुटवल १ गणेशमन्दिर नजिकैबाट बाजागाजासहित शुरु भएको पैदलयात्रीसहितको विजय¥याली जितगढी किल्लामा पुगेको थियो । ¥यालीलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, वडाध्यक्षहरु, पूर्वजनप्रतिनिधि, संघसंस्था तथा स्थानीयले पैदलयात्रामा सहभागी टोली र नेपाली सेनाका मध्यपश्चिम पृतनापतिसहितको टोलीलाई स्वागत र सम्मान गर्नुभएको थियो ।
जितगढी किल्लामा आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले जितगढी किल्ला अन्तरराष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले जितगढी किल्लाले बुटवलको पहिचानलाई उच्च बनाउँदै लगेकोले किल्लाको संरक्षण र पर्यटन प्रवद्र्धनलाई उत्तिकै महत्वदिनुपर्ने बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको जितगढी किल्लाको ऐतिहासिक र पुरातात्विक महत्वलाई स्थापित गर्दै पर्यटकीय स्थलको रुपमा विकास गर्ने बताउनुभयो । उहाँले आगामी वर्षदेखि नियमित रुपमा हरेक वर्ष वैशाख ७ गते जितगढी उत्सव मनाइने र बुटवलकै उत्सवका रुपमा यसलाई स्थापित गर्ने बताउनुभयो । उहाँले किल्लाक्षेत्र र आसपासको पर्यटनका साथसाथै पुरानो बुटवललाई समेत जोडेर पर्यटकीय स्थलको रुपमा विकास र प्रवद्र्धन गर्ने बताउनुभयो ।
नेपाली सेनाका मध्यपश्चिम पृतिनापति यामप्रसाद ढकालले नेपाली सेना र नागरिकबीचको सम्बन्धलाई बलियो बनाउँदै युद्ध पर्यटनको रुपमा जितगढी किल्लाको प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । उहाँले जितगढी किल्ला नेपाली सेनाका लागि पनि महत्वपूर्णथलोका रुपमा रहेकाले यसको संरक्षण र प्रवद्र्धनमा नेपाली सेना सधै बुटवल उपमहानगरपालिकासँगै रहने बताउनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले जितगढी किल्लाले बुटवलको गरिमा बढाएको बताउँदै पर्यटन प्रवद्र्धनमा समेत जितगढी किल्लाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, बुटवल उपमहानगरपालिकाका पूर्वप्रमुख शिवराज सुवेदी, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उज्ज्वल कसजु, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल लगायतले बोल्दै जितगढी किल्लाको संरक्षण र पर्यटन प्रवद्र्धनमा भएको प्रयासले बुटवलले लाभ लिनसक्ने बताउनुभयो ।



