बुटवल । रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले नियमित रूपमा आन्तरिक र अन्तराष्ट्रिय उडान गर्नुपर्ने यस क्षेत्रका पर्यटन व्यवसायीले माग गरेका छन् । नेपाल एशोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशले आइतबार निगमका नायब महाप्रबन्धक जनकराज कालाखेतीलाई काठमाडौंस्थित कार्यालयमा भेटेर ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापनपत्रमा गौतमवुद्ध विमानस्थल लक्षित गरी होटल तथा पर्यटन व्यवसायमा निजी क्षेत्रको ६० अर्ब बढी लगानी भइसकेकाले अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा लगानी असुरक्षित भएको उल्लेख गरिएको छ । व्यवसायीको लगानी सुरक्षाका लागि सरकारी स्वामित्वको निगमले नियमित राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नुपर्ने व्यवसायीको माग छ ।
नाट्टाका निवर्तमान अध्यक्ष सागर अधिकारी र पूर्वअध्यक्ष सञ्जीव जोशीसहितको प्रतिनिधिमण्डलले जतिसक्दो छिटो भैरहवाबाट नियमित उडान गराउन माग गरेका हुन् ।
ज्ञापनपत्र बुझ्दै निगमका नायब महाप्रबन्धक कालाखेतीले हाल निगमका चारवटा मात्रै जहाज भएकाले भैरहवाबाट नियमित उडानका लागि समस्या भएको तर सरकारले सहजीकरण गरेमा नियमित उडान गर्न सकारात्मक रहेको बताउनुभयो । विमानस्थलबाट निगमले भैरहवा–काठमाडौं र भैरहवा –दिल्ली उडान गरेमा फुल बुकिङ गराउन नाट्टा र ट्राभल व्यवसायीले सहकार्य गर्ने पूर्वअध्यक्ष सञ्जीव जोशीको भनाइ छ ।
हाल भैरहवाबाट बुद्ध, यति, श्री एअरलायन्सका गरी १५ वटा जहाजले उडान भर्दै आएका छन् । यसका साथै प्रतिनिधिमण्डलले प्रधानमन्त्री, पर्यटनमन्त्री, श्रममन्त्रीसँग समेत भेटेर भैरहवा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको लागि पहल गर्न लिखित रुपमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।
यसअघि भैरहवा क्षेत्रका ३२ वटा संस्थाले गौतमबुद्ध विमानस्थलबाट नियमित रूपमा अन्तर्राष्ट्रिय उडान सञ्चालनको माग गर्दै आन्दोलन घोषणा गरेका थिए । उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएका हुन् ।
राष्ट्रिय ध्वजाबाहक जहाजको उडान नहुँदासम्म अन्य स्वदेशी तथा विदेशी विमान कम्पनी आकर्षित नभएकाले नेपाल वायु सेवा निगमका जहाजबाट नियमित सेवा सुरु गर्नुपर्ने व्यवसायीको माग छ । माग सम्बोधन नभए उद्योगी व्यवसायी, विभिन्न संघ–संस्था विमानस्थलमा धर्ना दिने, आन्तरिक उडान ठप्प पार्नेसम्मका दबाबमूलक आन्दोलन घोषणा गरिएको छ । विमानस्थल सञ्चालनमा नआउँदा विमानस्थललाई लक्षित गर्दै खोलिएको करिब १५ देखि २० वटा ठूला होटलहरु बैंकले लिलामी गरिसकेको व्यवसायीको भनाइ छ ।



