भैरहवा । नेकपा (एमाले) सिद्धार्थनगर नगर कमिटीका सचिवसहित ७४ जनाले सामूहिक राजीनामा दिएका छन् । सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी नगर सचिव नारायणप्रसाद भण्डारीसहित नगर कमिटी र विभिन्न जनवर्गीय संगठनका पदाधिकारीले सामुहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।
पार्टीको जिल्ला नेतृत्वले पार्टी सुधारको मागलाई बेवास्ता गरेकोले सामुहिक राजिनामा दिनुपरेको उनिहरूले बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले एक महिनाअघि पार्टीमा गर्नुपर्ने सुधारको माग राख्दै नेतृत्वलाई १० बुँदे मागसहित सुझाव पत्र पेस गरिएको तर जिल्ला नेतृत्वले त्यसलाई बेवास्ता गरी उल्टै व्यक्तिगत लाञ्छना र कारबाहीको धम्की दिंदै गुटगत सोचले अघि बढेपछि राजीनामा दिनुपरेको बताउनुभयो ।
‘पार्टीलाई विधि प्रकृया र संस्थागत रुपले अघि बढाउनुपर्छ भनेर ५१ जना कार्यकर्ताले पार्टी सुदृढीकरण तथा संगठनात्मक सुधारको लागि एक महिनाअघि सुझाव पत्र पेस गरेका थियौं,’ भण्डारीले भन्नुभयो , ‘तर हाम्रा माग सम्बोधन गरी पार्टीलाई सुदृढ बनाउने भन्दा निरंकुश शैलीमा गुटगत पुर्वाग्रह राखेर पार्टीबाट निस्किएर गए हुन्छ भन्ने ढंगबाट व्यवहार भएपछि राजीनामा गर्न बाध्य भयौं ।’
जिल्लामा रहेका पार्टीका केन्द्रीय सदस्य, प्रदेश कमिटी पदाधिकारीले समेत पार्टी सुधारका लागि राखेका माग सम्बोधन गर्न कुनै चासो नराखी बेवास्ता गरेको भण्डारीले गुनासो गर्नुुभयो । राजीनामा दिएका नेता कार्यकर्ताहरुले तत्काल स्वतन्त्र नागरिक अभियान बनाएर अघि बढ्ने बताउनुभयो । १० बुँदे माग कार्यान्वयन भए पार्टीमा फर्किने सम्भावना भए पनि कार्यान्वयनतर्फ पार्टी नेतृत्वले चासो नदिएको भण्डारीले बताउनुभयो ।



