बुटवल । बुटवल जेसीजमा नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ । बिहिबार साँझ बुटवलमा आयोजाना गरिएको कार्यक्रममा बुटवल जेसीजका वर्ष २०२३ का अध्यक्ष हरीविक्रम कुवँरको कार्यसमितिले वर्ष २०२४ को लागि नवनिर्वाचित अध्यक्ष विनोद घिमिरेको कार्यसमितिलाई शपथ ग्रहण सहित पद हस्तान्तरण गरेको हो ।
कार्यक्रममा बोल्दै कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले जेसीजमा लागेका युवालाई राजनीतिमा पनि सहभागि हुन आग्रह गर्नुभयो । उहाँले जेसीजमा सिकेको सीप र ज्ञानलाई राजनीतिका माध्यमबा देशको विकासमा प्रयोग गर्न आग्रह गर्नुभएको हो ।
नेपाली काँग्रेसका उपसभापतिसमेत रहनु भएका मन्त्री गुरुङले ग्लोवल भिलेजमा युवालाई विदेश जानबाट रोक्न नसकिने बरु देशमै बस्ने वातावरण बनाउनु पर्ने भनाई राख्नुभयो । उहाँले भन्नुभयो–‘एउटा व्यक्ति कहाँ बस्न मन पराउँछ, त्यो उसको व्यक्तिगत स्वतन्त्रताको कुरा हो । सरकारले स्वदेशमै बस्ने केही गर्ने वातावरण बनाउनको लागि तपाईहरुले भन्नुपर्यो, या अहिले अर्धदक्ष कामदारको रुपमा विदेश गईरहेका छन्, त्यसलाई दक्ष बनाउन जोड दिनुपर्यो ।’
त्यस्तै बुटवल नगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले विवाद नभएको जग्गामा मोतिपुर औद्योगिक क्षेत्रको निर्माणको काम सुरु गर्न र विवाद भएका जग्गामा विवाद समाधान गर्दै अगाडि बढ्नेगरी काम अगाडि बढाउन मन्त्री गुरुङसंग आग्रह गर्नुभयो । त्यसैगरी उहाँले बुटवल जेसीजसंग सधै सहकार्य भईरहेको बताउदै भोलीका दिनमा पनि सहकार्य भइनैरहने विश्वास दिलाउनु भयो ।
त्यस अवसरमा नवनिर्वाचित अध्यक्ष घिमिरेले बुटवल जेसीजलाई नेतृत्व तथा व्यक्तित्व विकासका हिसावले एउटा विश्वविद्यालयको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै निवर्तमान अध्यक्ष हरीबिक्रम कुवरले जेसीजले अगाडि सारेका कार्यक्रमलाई निरन्तरता दिन नवनिर्वाचित कार्यसमितिलाई आग्रह गर्नुभयो ।
त्यसअवसरमा बुटवल जेसीजले प्रदान गर्ने स्व। गणेशमान सैंजू स्मृति पत्रकारिता पुरस्कार पत्रकार सिपि खनाल र उत्कृष्ट युवा सम्मान संगितकार तथा गायिका बुटवलकी सरस्वती श्रेष्ठलाई प्रदान गरिएको छ ।
कार्यक्रममा नेपाल जेसीजका कार्यकारणी उपाध्यक्ष सन्दिप अग्रहरी, बुटवल जेसीजका पूर्वअध्यक्षहरु निर्मलप्रसाद लाकौल, राजू पौडेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।



