बुटवल । आइतवार सकिएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९मा ६१ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगले पौने ८ बजे पत्रकार सम्मेलन गरी ६१ प्रतिशत मत खसेको जानकारी गराएको हो । बिहान ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजे यति मत खसेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । यो अहिलेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको विवरणअनुसार भएको उनले बताए । सबै विवरण प्राप्त भएपछि संख्या बढ्न सक्ने पनि आयोगले अनुमान गरेको छ । यो मत आयोगले अपेक्षा गरेको भन्दा पनि कम भएको आयुक्त थपलियाले बताए ।
रुपन्देहीमा भने ६६ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले अन्तिम विवरण भने अझै आइनसकेको जनाएको छ । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख निर्वाचन अधिकारी अयोध्या भण्डारीले ६६ प्रतिशत मत खसेको र केही समयपछि अन्तिम विवरण आउने जानकारी दिए ।
आइतबार बिहान ७ बजेदखि सुरु मतदान साँझ ५ बजेसम्म चलेको थियो । रुपन्देहीमा ६ लाख ३८ हजार ९ सय ५२ मतदाता रहेका छन् । मतदान सकिएपछि मतगणनाका लागि निर्वाचन आयोगले मतगणनास्थलमा आवश्यकताअनुसार व्यवस्थापन गरिसकेको र राति १० बजेदेखि मतगणनाको तयारी भइरहेको जनाएको छ ।



