भैरहवा । सिद्धार्थगर नगरपालिका–७ स्थित प्रबद्र्धन बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिक साधारणसभा शनिबार भैरहवामा सम्पन्न भएको छ । साधारणसभा बोल्ने वक्ताहरुले सहकारीहरुले नीति, नियममा रहेर सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।सिद्धार्थनगर नगरपालिकाका सहकारी शाखा प्रमुख कमलकान्त खनालले सर्वसाधारणको स–सानो पुँजी जम्मा हुने भएकाले सहकारीले जोखिमरहित क्षेत्रमा लगानी गर्नुपर्ने बताए । अहिले धेरै सहकारीले निक्षेप फिर्ता नसकेको समाचारहरु आइरहेको जनाउँदै त्यसतर्फ प्रबद्र्धनले विशेष ध्यान दिनेमा विश्वास व्यक्त गरे ।
सहकारीका अध्यक्ष नारायणप्रसाद न्यौपानेले प्रबद्र्धनले बचतकर्तालाई अधिकतम लाभ मिल्ने गरी सहकारीको ऐन, नियमअनुसार कारोबार गरिरहेको बताए । उनले सबै सदस्यहरुको सल्लाहसुझावका आधारमा सहकारी अघि बढेका कारण आज सफल र सक्षम हुन सकेको जनाए ।
४ सय ५५ जना शेयर सदस्य रहेको सहकारीको कुल पुँजी ६ करोड २ लाख ३३ हजार छ । यस्तै, शेयर निक्षेप १० करोड ७ लाख छ भने लगानी ५ करोड ३३ लाख रहेको अध्यक्ष न्यौपानेले बताए ।
कुल निक्षेप ४ करोड ४३ लाख रहेको सहकारीको जगेडा कोषमा २१ लख रुपैयाँ रहेको छ । सहकारीले कृषि, उद्योग–व्यापार र महिला उद्यमशिलताका क्षेत्रमा लगानी गर्दै आइरहेको छ । साधारण सभामा न्यौपानेले अध्यक्षको र कृष्णप्रसाद पन्थीले कोषाध्यक्षको प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदन सर्वसम्मत पारित भएको सहकारीकी व्यवस्थापक कविता जिसीले बताइन् । कार्यक्रम सहकारीका उपाध्यक्ष नारायण बहादुर कार्कीको स्वागत तथा सचिव भेषराज बश्यालको संचालनमा सम्पन्न भएको थियो ।



