बुटवल । नेपाली काँग्रेस रुपन्देहीले प्रदेशको स्थायी संरचना नबन्दै राजधानी दाङमा सार्न लागेको भन्दै मुख्यमन्त्री कार्यालय बुटवलमा ज्ञापनपत्र बुझाएको छ । काम चलाउ सरकारले कर्मचारी आवास, प्रदेशसभाका सांसद बस्ने पूर्वाधार नभएको स्थानमा जबर्जस्ती लैजाँदा प्रतिकूल असर पर्ने भन्दै राजधानी सार्न हतार नगर्न माग गरेको हो ।
कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री कार्यालयका कार्यवाहक मुख्य सचिव दिपेन्द्र थापालाई ज्ञापनपत्र बुझाउँदै राजधानी सार्न हतार नगर्न भनेको हो । पूर्वाधार बिना राजधानी सार्ने भन्दा पनि भौतिक पूर्वाधार निर्माणमा ध्यान दिन र नवनिर्वाचित प्रदेशसभाबाट बन्ने सरकारलाई कार्यभार सुम्पिन काँग्रेसले आग्रह गरेको छ । ज्ञापनपत्रमा मुकाम कहाँ राख्ने र सार्ने भन्दा पनि प्रदेशवासीको दैनिकीसँग कसरी प्रदेशसभाको कानुन निर्माण प्रक्रियालाई जोड्न सकिन्छ भन्ने कुरातिर केन्द्रित हुन आग्रह गरिएको छ ।
अहिलेको निर्वाचनबाट प्राप्त सांकेतिक अभिमतलाई दृष्टिगत गरी प्रदेश मुकाम जहाँ छ त्यहीँबाट सेवा प्रवाहमा चुस्तता साथै सुशासनमा दृढताका साथ उभिन प्रदेश सरकारलाई आह्वान गरिएको छ । कर्मचारी आवास, प्रदेश सभाका सांसद बस्ने पूर्वाधार नभएको स्थानमा जबर्जस्ती लैजानु प्रतिकूल असर पर्ने देखिएको भन्दै राजधानी हतारमा सार्ने भन्दा पनि भौतिक पूर्वाधार निर्माणमा ध्यान दिन खाँणले आग्रह गरे ।
‘तत्काल सार्वभौम प्रदेश सभाको निर्णय कार्यान्वयन गर्दा प्रदेश सरकार, संसद, बिषयगत समिती लगायतका संरचनाको नियमित संचालन र व्यबस्थान गर्न साथै प्रदेश सभा र सरकार सङ्गै जाने सभासद र कर्मचारीको आवासका लागी पर्याप्त पुर्वाधार नभएको स्थानमा जवरजस्ती लैजानुु प्रदेश सभा तथा प्रदेश सरकारको सेवा प्रभाहमा समेत प्रतिकुल असर पर्ने देखिएकोले तत्काल मुकाम सार्ने प्रक्रिया रोकि भौतिक संरचना निमार्णमा ध्यान दिन र नवनिर्वाचित प्रदेश सभाबाट बन्ने नयाँ सरकारलाई सोको कार्यभार सुम्पन ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमा हतारो गरी बल पुर्वक मुकाम (राजधानी सार्न खोज्दा कुनै अप्रिय घटना घटेमा त्यसको नैतिक जिम्मेवारी समेत प्रदेश सरकारको लागि कालो धब्बा हुने चेतावनी दिएको छ ।



