बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी सोनामले राजधानीको स्थायी मुकामको विषयलाई लिएर राजनीति नगर्नका लागि अनुरोध गर्दै सबै धैर्य भएर प्रदेश सभाले गरेको निर्णयलाई कार्यान्वयनका लागि सहयोग गर्नका लागि सबै पक्षसँग अपिल गरेका छन् ।
मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश सभाले पारित गरेको कुरा बताउँदै भने ः–‘वि.ससं. २०७७ साल असोज २० गते लुम्बिनी प्रदेशको प्रदेश सभाले बहुमतका साथ प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्रलाई तोकेको थियो । त्यसलाई कार्यान्वयन मात्रै गरेको हो, हाल सरकारले त्यसको निर्णयलाई अक्षर पालना मात्रै गरेको त्यसैले विवाद नगरी सिंगो प्रदेश बासी जनताको मनोभावनालाई केन्द्रीत गर्ने हो ।’
उनले लुम्बिनी प्रदेशको मुकाम र नामाकरणका विषयमा सबै जिम्मेबार भएर कार्यान्वयन गरी समग्र प्रदेशको हितमा काम गर्न सबै राजनीतिक दल, जनप्रतिनिधी, सरोकारवाला लाग्नका लागि अनुरोध गरेका छन् ।
मुख्यमन्त्रीले केसीले आफ्नो कार्यकालमा त्यसलाई एउटा गौरवको आयोजनाको रुपमा अगाडि बढाएको बताउदै त्यसलाई कार्यान्वयन गरी अगाडि बढ्ने बताए । साथै उनले यो प्रदेशको राजनीती नेपालको सबैभन्दा नमूना योग्य बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । लुम्बिनी प्रदेशको राजाधानी देउखुरीबाट सरकार र सदन एउटै कमाण्डबाट सञ्चालन हुने बताउँदै यो केन्द्रीय सरकारको भन्दा बढी राम्रो हुने बताए ।
प्रदेश सभा सदस्यबाट त्यसबेला प्रदेश सभाका ८२ सांसदमध्ये नेपाली कांग्रेसका जम्मा १३ जना सांसदले मात्र दाङको विपक्षमा मदतान गरेका थिए । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को बाम गठबन्धनका ७४ सांसदले पक्षमा मतदान गरेका थिए । कांग्रेसको ह्वीपबिरुध दाङका चार कांग्रेसी सांसदले पनि पक्षमा मतदान गरेका थिए ।



