बुटवल । पेट्रोलियम पदार्थ विक्रेता व्यवसायीहरुले पेट्रोलियम विक्रेताले प्रतिशतमा पाउंदै आएको कमिशन स्थगन गरिएकाले स्थगन गरिएकै मितिदेखि लागु हुनेगरी साविकको ब्यवस्था अनुसार कायम गर्न माग गरेका छन् । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियसनको शनिबार भएको १७ औं वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले सरकार र नेपाल आयल निगम व्यबसायी प्रति गम्भिर बन्न समेत आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक ईञ्जिनियर उमेशकुमार थानीले व्यवसायीले माग गर्दै आएको कमिसनको निर्णयलाई सुधार गर्न तयार रहेको बताए । कार्यकारी निर्देशक थानीले नेपालमा पनि पेट्रोलियम पदार्थमा ईथाईल मिश्रणको लागि छलफल भईरहेको र त्यसको लागि अध्ययन समिति बनेको जानकारी दिए । उनका अनुसार छिमेकी मुलुक भारतमा पनि १० प्रतिशत मिसाउन पाउने प्रावधान छ । उनले आफूले व्यवसायमैत्री वातावरण बनाउन तयार रहेको बताए ।
नेपाल पेट्रोलियम डिलर्स एशोसियशनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले व्यवसायीलाई प्राप्त हुँदै आएको कमिसन १५० मा स्थगन भएको स्मरण गराउँदै त्यसलाई निरन्तरता दिन आग्रह गरे । छिमेकी मुलुक भारतमा नेपालमा भन्दा सस्तो मुल्यमा पेट्रोलियम पदार्थ पाईदा सिमावर्ती व्यवसायी मारमा परेको भन्दै त्यसलाई व्यवस्थापन गर्न पनि उनले आग्रह गरे ।
नेपाल आयल निगम वितरण विभाग प्रमुख विरेन्द्र गोईत, नेपाल आयल निगमका प्रदेश प्रमुख जगदिशचन्द्र यादवले तेल घट्ने प्राविधिक कुरा भएको बताउँदै प्राविधिक कुरालाई धेरै नउचाल्न आग्रह गरे । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले व्यवसायीहरुले पुरा परिणाम तेल नपाएको गुनासो गर्दै निश्चित परिणामको लागि निश्चित मुल्य तिरिसकेपछि पुरा परिणाम पाउनु पर्ने बताए । नेपाल पेट्रोलियम डिलर्स एशोसियशनका महासचिव विश्वप्रसाद अर्यालले व्यवसाय सुधारको लागि व्यवसायीहरुले उधारोमा हुँदै आएको विक्रि वितरण र व्यवसायि विचको अस्वस्थ्य प्रतिस्पर्धा रोक्नु पर्ने बताए ।
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियशनका अध्यक्ष प्रेम न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य तथा व्यवसायी वैजनाथ जयसवाल, एशोसियशनका पूर्व अध्यक्ष राजेन्द्र गुप्ता, पश्चिम नेपाल वस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, नेपाल प्रेस युनियन रुपन्देहीकी अध्यक्ष रेखा भुसाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
त्यसै अवसरमा अपांगता सेवा केन्द्र बुटवललाई १ लाख रुपैंया आर्थिक सहयोग प्रदान गरिएको छ । एशोसियशनले स्थापना गरेको १० लाख रुपैंयाको कोषबाट व्याज स्वरुप प्राप्त १ लाख रुपैंया प्रदान गरिएको हो । उक्त सेवा केन्द्रलाई वार्षिक रुपमा आर्थिक सहयोग गर्ने गरी एशोसियशनले अघिल्लो वर्ष मात्रै १० लाखको कोष स्थापना गरिएको र त्यसबाट प्राप्त हुने व्याज प्रत्येक वर्ष साधारण सभामा उपलब्ध गराउने अध्यक्ष प्रेम न्यौपानेले बताए ।
साधारण सभामा बोल्ने व्यवसायीले सीमा क्षेत्रमा भारतीय बजारबाट अवैधरुपमा तेल ल्याउने क्रम बढेको र तेल भर्न भारतीय पम्पहरुमा जाने प्रबृति मौलाउँदा आफूहरुको व्यवसाय संकटमा परेको समेत गुनासो गरेका छन् । ‘लाइन लागेर सीमा क्षेत्रका नागरिक आफ्नो साधन लिएर भारतीय बजारमा पेट्रोल भर्न गइरहन्छन्, उनीहरुलाई कहीकतै रोकतोक छैन, नेपाली पम्पहरु सुनसान रहेको बताए ।कार्यक्रम वरिष्ठ उपाध्यक्ष हिमाल गैरेको स्वागत तथा महासचिव हरिराम कसौधनको सञ्चालनमा भएको थियो । संघको अधिवेशनले आगामी कार्याकालका लागि आइतवार नयाँ नेतृत्व चयन गर्ने छ ।



