बुटवल । प्रेस विरोधी कानून ल्याउन नदिन तीन वटै तहका सरकारसँग चनाखो बन्नुपर्ने सञ्चार क्षेत्रका अगुवा तथा सरोकारवालाले बताएका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले आज तिलोत्तमाको बनबाटीकामा गरेको अन्तरक्रिया तथा सम्मान कार्यक्रममा उनीहरुले तीनवटै सरकारबाट जारी हुने कानून प्रेस मैत्री छन कि छैनन् भन्ने कुरा खोज्नुपर्ने उल्लेख गरे ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले बर्तमान सरकारमा लोकतन्त्र र प्रेस स्वतन्त्रता मन नपराउनेहरु पनि रहेकाले सतर्क हुनुपर्ने उल्लेख गरे । प्रेस युनियन नयाँ ढंगले अघि बढ्नुपर्ने भन्दै उनले नेताहरुको पछि लाग्न छाडेर जनताका गुनासा र समस्याका बारेमा युनियनले लगातार अन्तरक्रिया गर्नुपर्ने बताए । युनियनका उपाध्यक्ष माधब अर्यालले केन्द्र, प्रदेशदेखी स्थानिय सरकारसम्म कार्यहरुप्रति पत्रकारले कलम चलाउनुपर्ने बताए ।
युनियन महासचिव दिलिप पौडेलले पछिल्लो पटक नयाँ दलहरुले पनि नेपाली सञ्चारमाध्यमप्रति धावा बोल्ने काम भएको भन्दै त्यसले प्रेस जगतलाई चिन्तीत बनाएको बताए । बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्वल कसजुले शहरका समस्या सँगै व्यवसायीका समस्याहरुलाई पनि उठान गर्न पत्रकारहरुसँग आग्रह गरे ।
प्रेस युनियन रुपन्देहीकी सभापति रेखा भुसालले युनियनका सबै सदस्य र शुभेच्छुकहरुबीच आपसी भेटघाट सम्बन्ध विस्तार होस भनेर बनभोज सँगै अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताईन् । युनियनकी कार्यवहाक सचिव कल्पना तिवारीको सञ्चालनमा भएको कार्यक्रममा रुपन्देहीबाट प्रतिनिधित्व गर्ने प्रेस युनियन लुम्बिनी प्रदेश समितिका नवनिर्वाचत पदाधिकारी र सदस्यहरुलाई सम्मान गरिएको थियो ।
त्यस्तै प्रेस युनियनका केन्द्रीय पदाधिकारीहरुलाई समेत युनियन रुपन्देहीले सम्मान गरेको थियो । तिलोत्तमा शंकर नगर बनबाटीकाको विपि बाटिकामा भएको बनभोज सहितको अन्तरक्रियामा युनियनका केन्द्र, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यसँगै पूर्व केन्द्रीय सदस्य, सल्लाहकार र शुभेच्छुकहरुको सहभागीता थियो ।



