काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्ष पदमा पुनः निर्वाचन हुने भएको छ । तीन जनाबीच प्रतिस्पर्धा भएकामा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि पुनः निर्वाचन हुन लागेको हो ।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष उम्मेदवारले ५० प्रतिशत मतभार कटाउनुपर्ने हुन्छ । कसैको पनि उक्त मत नपुगेपछि पुनः मतदान हुने भएको हो । मतदान आज दिउँसो १ बजेदेखि हुने भएको छ ।
प्राप्त मतभारका आधारमा वरिष्ठ उपाध्यक्षका लागि दोस्रो चरणमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । रामचन्द्र संघई भने पहिलो चरणबाट बाहिरिनु भएको छ ।
महासंघको निर्वाचन समितिले दिएको विवरणअनुसार अञ्जनले ३८ प्रतिशत पाउनु भएको छ । दोस्रो स्थानमा रहेका उमेशलालले ३१.५१ र रामचन्द्र संघइले ३०.४८ प्रतिशत मतभार पाउनु भएको छ ।उमेश १.०३ प्रतिशत मतभारले रामचन्द्रलाई उछिन्दै दोस्रो चरणमा पुग्नु भएको हो ।



