बुटवल । ग्रील सम्बन्धी काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएका मजदुरको परिवारलाई ग्रील तथा स्टील ब्यावसायी संघ रुपन्देहीले सात लाख रुपैयां राहत प्रदान गरेको छ । बुटवल इन्जिनियरिङ वक्र्सका कामदार तिलक थारुको गत साउन ९ गते कामको सिलसिलामा कपिलवस्तुमा करेन्ट लागेर मृत्यु भएकोमा उहाँको परिवारले ७ लाख रुपैयां राहत पाएको हो ।
संघले एक कार्यक्रमबीच मृतक थारुकी श्रीमती निशाकुमारी थारुलाई ७ लाख रुपैयांको चेक दिएको हो । चेक पाएपछि निशाले दुखको बेला ठूलो राहत मिलेको बताउनु भयो । संघले शुरु गरेको सामाजिक सुरक्षा अभियान अन्तर्गत निशाले राहत रकम पाउनु भएको हो । संघका सदस्य व्यवसायी सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध भएमा उद्योगमा काम गर्ने कामदार मजदुरले स्वतः राहत पाउंछन् । मजदुरले कुनै शुल्क तिर्नुपर्दैन ।
सासु कार्यक्रम शुरु गरेका निवर्तमान अध्यक्ष तुलजी सारुले कामको सिलसिलामा घाइते भएकाको हकमा न्युनतम १० हजारदेखि ७५ हजारसम्म र मृत्यु भएमा ७ लाख रुपैयांसम्म राहत रकम दिने गरेको बताउनुभयो । संघका अध्यक्ष मोहन भट्टराईले आफ्नो कार्यकालमा संघमा आवद्ध सबै व्यवसायीलाई सासु कार्यक्रममा आवद्ध गराई व्यवसायी र मजदुर दुबैलाई भवितब्य आइपर्दा राहत दिलाउने प्रयासमा रहेको बताउनुभयो ।
सासु कार्यक्रममा आवद्ध हुन एक दिनको ६ रुपैया र नवीकरण गर्न एक दिनको ३ रुपैयां ंमात्रै लाग्छ’–भट्टराईले भन्नुभयोे–‘यो कुनै ठूलो रकम होइन तर कतिपय व्यवसायीले यसको महत्व अझै बुझ्न सक्नुभएको छैन ।’ सासु कार्यक्रममा आवद्ध हुने व्यवसायीलाई संघले हेल्मेट,पन्जा लगायत दुई हजार भन्दा बढी मूल्य पर्ने सेफ्टी औजारहरु समेत दिने गरेको महासचिव ध्रुवमणि ज्ञवालीले बताउनुभयो ।
संघले हालसम्म ५० जना भन्दा बढीलाई सासु कार्यक्रम अन्तर्गत उपचार खर्च र राहत दिएको उहाँले बताउनुभयो । संघका संस्थापक अध्यक्ष अशोक वर्माले संघले शुरु गरेको सामाजिक सुरक्षा कार्यक्रम अरु व्यवसायिक संस्थाले पनि लागु गर्नुपर्ने अनुकरणीय रहेको बताउनुभयो ।



