काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले राजनीतिक व्यवस्था सुधार्न सबैसंग बहस र सहकार्य गर्न तयार रहेको बताउनु भएको छ । जनप्रचार तथा प्रकाशन प्रा लिद्वारा काठमाडौमा बुधबार आयोजित राजनीतिक अस्थिरता, आर्थिक संकट र सञ्चारको दायित्व बिषयक अन्तर्कृया तथा जनपत्रीका मासिकको लोकार्पण कार्यक्रमलाई प्रमुख बक्ताको रूपमा सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो बताउनु भएको हो ।
विप्लवले राष्ट्रिय परिस्थिति झनझन् गहिरो र सकंटग्रस्त बन्दै गईरहेको भन्दै प्रगतिशील र क्रान्तिकारी शक्तिहरु संग सहकार्य र छलफल गर्दै जाने बताउनु भएको छ । विप्लवले उक्त कार्यक्रममा मिडिया मालिकको नभएर जनताको हुनुपर्नेमा जोड समेत दिनुभएको छ । एकअर्को प्रसंगमा विप्लवले नेपालमा राजतन्त्र विरुद्ध गणतन्त्रको आन्दोलन चलिरहेको बेला नेपाल पत्रकार महासंघले राजनीतिक दलहरू भन्दा अगाडि रहेर गणतन्त्रको निर्णय संस्थागत ढङ्गले गर्नु साहसिक निर्णय भएको समेत बताउनु भएको छ ।
महासचिव विप्लवले सूचनासञ्चार र पत्रकारिताको सुरुवात नै प्रारम्भमा जनताको सेवाका लागि भएको थियो तर समाज वर्गमा बिभाजित भएपछि नै पत्रकारिता पनि बिभाजित हुन पुगेको हो, अब सञ्चार नागरिकको आधारभुत आवश्यकता बन्दै गएको बताउनु भयो । पञ्चायतकाल देखि नै नेपालको पत्रकारिता वा सञ्चार माध्यमहरु कुनै न कुनै रूपमा लडिरह्यो” उहाँले भन्नुभयोे– जनयुद्धको समयमा पनि नेपालको पत्रकारिताले बिना पुर्वाग्रह सत्यतथ्य बाहिर ल्याउने काम गरेको थियो।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत,नेपाल पत्रकार महासंघका पुर्ब अध्यक्ष एवम् प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य र बिष्णु निष्ठुरी , नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले देशको समसामयिक स्थित र नेपालका सञ्चार माध्यमहरुको दायित्वबारे मन्तव्य राख्नु भएको थियो । जनप्रचार तथा प्रकाशन प्रा लिका निर्देशक अनिल शर्माको अध्यक्षता र प्रबन्धक धनराज शाहीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन जनपत्रीका राष्ट्रिय मासिकका प्रधानसम्पादक प्रकाश डुम्रेले गर्नु भएको थियो ।



