बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी विश्वासको मत पाउन असफल भएका छन् । प्रदेश सभाको बैठकमा मुख्यमन्त्री गिरीले दोस्रो पटक विश्वासको मत पाउन असफल भएपछि उनी स्वतः पदमुक्त हुनुभएको छ ।
गिरी पदमुक्त भएसँगै नेकपा एमालेले नेतृत्व गरेको चार वटा सरकार मध्ये तीन वटा सरकार ढलेको छ । यसअघि सुदूरपश्चिम र गण्डकी सरकार ढलेको थियो । अब लुम्बिनीमा नेपाली कांग्रेस नेतृत्वमा सरकार बन्नेछ । सरकार निरन्तरताका लागि पाउनु पर्ने ४४ मतमध्ये मुख्यमन्त्री गिरीले ३३ मत मात्रै प्राप्त गर्नु भयो ।
उहाँलाई एमालेका २९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ प्रदेश सभा सांसदले मात्रै मत दिएपछि उहाँ स्वतः पदमुक्त हुनुभएको हो ।
मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा ५३ मत खसेको थियो । प्रदेश सभामा ८७ जना सांसद रहेका छन् । नेकपा माओवादी केन्द्रले यसअघि दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले विश्वासको मत मागेका हुन् । उहाँले नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम पुनस् विश्वासको मत माग्नु भएको हो
प्रदेशसभा बैठकमा बिशेष सम्बोधन गर्दै उहाँले संघीयता कार्यान्वयनको लागि आफ्नो नेतृत्व सरकारले थप आधार तय गर्न सफल भएको दाबी
गर्नु भएको थियो । ‘यो सय दिनको अवधिमा मेरो नेतृत्वको लुम्बिनी प्रदेश सरकारले केही महत्त्वपूर्ण उपलब्धीहरू हासिल गरेको छ र थप आधार पनि निर्माण गरेको छ,’ विश्वासको मत माग्दै उहाँले भन्नु भयो , ‘समृद्ध प्रदेश आत्मनिर्भर लुम्बिनीको मुल उद्देश्य पुरा गरी दिगो विकास लक्ष्य हासिल गर्न लुम्बिनी प्रदेश सरकारले निजी क्षेत्र, सहकारी, समुदाय र विकास साझेदारसँग सुदृढ सम्बन्ध र सहकार्यको थालनी गरेको छ ।’



