भैरहवा । लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री सन्तोषकुमार पाण्डेयले आफु संचारमैत्री ऐन, कानून बनाउन कटिबद्ध रहेको बताउनु भयो । लुम्बिनी प्रेस क्लबले बुधबार भैरहवामा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै लुम्बिनी सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले पत्रकारहरुसँग सहकार्य गर्दै ऐन, नियम बनाउँदै संचारमाध्यमलाई व्यवस्थित बनाउने बताउनुभयो ।
उहाँले संचार क्षेत्रसँग सम्बन्धित कतिपय ऐन, नियम र कानून नबनेको जनाउँदै त्यस्तो कार्यलाई छिटो पूर्णता दिने बताउनुभयो । ‘ऐन, नियम बनेमा संचार क्षेत्र व्यवस्थित हुन्छ, यसका लागि सबै पत्रकारहरुसँग सहकार्य र सल्लाहसुझाव लिएर मैले काम गर्ने छु, प्रदेश सरकारले काम गर्ने छ’, उहाँले भन्नुभयो ।
उहाँले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पत्रकारहरुको दुर्घटना बीमा रिन्यू गर्ने प्रक्रिया अघि बढाएको बताउनुभयो । ‘रिन्यू नहुँदा दुर्घटना विमाको काम रोकिएको थियो, मैले सचिवलाई निर्देशन दिएर प्रक्रिया अघि बढाएको छु, छिट्टै टुंगिने बताउनुभयो । उहाँले प्रेस क्लबले आगामी मंसिरमा आयोजना गर्न लागेको लुम्बिनी न्युज फेस्टिभललाई सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
मन्त्री पाण्डेयले लुम्बिनी सरकारले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने गरी योजना बनाएर अघि बढ्न लागेको बताउनुभयो । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का युवा नेता समेत रहेका मन्त्री पाण्डेले लुम्बिनीका माध्यमबाट प्रदेशलाई समृद्ध गराउनेतर्फ पनि सरकार लागिपरेको बताउनुभयो । उहाँले लुम्बिनीमा अधिक पर्यटक भित्र्याउन सरकारले योजना बनाइरहेको बताउनुभयो ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्मा, निवर्तमान अध्यक्ष नरेश केसी, संस्थापक अध्यक्ष माधव ढुंगाना, उपाध्यक्ष कमल रायमाझी, महासचिव शंकरप्रसाद पाण्डे, सल्लाहकार कुलमणि ज्ञवाली, लुम्बिनी न्युज फेस्टिभलका संयोजक दीपेन्द्र बडुवाल, सचिव प्रकाश न्यौपाने, अग्रज पत्रकार रामेश्वर भट्ट लगायतले बोल्दै संचारमैत्री सरकार र प्रदेश बनाउन पहल गर्न सुझाए दिनुभयो । उहाँहरुले संचार संग्रहालय, एकेडेमी निर्माण, समानुपातिक लोककल्याणकारी विज्ञापन वितरण, ऐन, कानून र नीतिनियम बनाउन मन्त्री पाण्डेयलाई आग्रह गर्नुभयोे ।



