बुटवल । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आजै साँझसम्म प्रदेश नेतृत्वमा सबैलाई चित्त बुझ्ने गरी मिलाएर नेतृत्व चयन गर्न केन्द्रीय नेताहरुलाई निर्देशन दिनुभएको छ । एमाले लुम्बिनी प्रदेश अधिवेशन उदघाटन समारोहलाई शनिवार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको लुम्बिनी प्रदेशको नेतृत्व आपसी सहमतिबाट टुङ्ग्याउन निर्देशन दिनुभएको हो ।
अध्यक्ष ओलीले कोही कसैले नेताका नाममा कुरा नगर्न निर्देशन दिँदै कसैको आर्शीवाद भएर हुँदैन आफ्नो क्षमताले नेतृत्व गर्नुपर्ने बताउनुभयो ।ओलीले लुम्बिनीजस्तो ऐतिहासिक स्थानबाट राजनीतिक जागरणका हिसाबले ऐतिहासिक क्षेत्रबाट एमालेको बलियो किल्ला, सिंगो कम्युनिष्ट पार्टीको उद्गमस्थलबाट एमालेले एकताको सन्देश दिनुपर्ने बताउनुभयो ।
नेकपा एमालेले पार्टीको लोकतान्त्रिक प्रक्रिया सबैभन्दा पहिले सुरु गरेको बताउँदै ओलीले भन्नुभयोे– यो अधिवेशन प्रादेशिक संरचना गएर कर्मकाण्डी पूरा गर्न अधिवेशन गरिएको होइन, एमालेले कर्मकाण्डका लागि होइन, आवधिक रूपमा उद्देश्यसहित अधिवेशन गर्न थालेको छ । अरू पार्टीजस्तो जसरी पनि सरकार टिकाउन बनेको पार्टी होइन । सुशासन र समृद्धिको लागि नेतृत्व गर्ने सरकार बनाउने, देश र जनताका लागि काम गर्ने सरकार चलाउन चाहने पार्टी हो । चुनावदेखि चुनावसम्म र सरकारदेखि सरकारसम्म पुग्ने गरी बनेको पार्टी होइन, यसमा आम एमालेका कार्यकर्ताले सबैलाई जवाफ दिनुपर्छ । ओलीले पार्टीको लडाई सधैँ प्रतिक्रियावादी, विकास र सम्बृद्धिका विरोधीसँग हुने बताउनुभयो ।
ओलीले प्रतिक्रियावादी शक्तिले सजिलै एमालेलाई अगाडि बढ्न नदिने बताउनुभयो । एमाले नेतृत्वको सरकारले गरेको विकास देखेर उनीहरु आत्तिएको बताउँदै ओलीले वामपन्थी खोल ओढेकाहरुको सहारामा सरकार ढालेको आरोप लगाउनुभयो । ओलीले भ्रष्टाचार नियन्त्रणका नाममा सरकारले राष्ट्रिय पुँजिपतिलाई आतंकित बनाएको आरोप लगाउनुभयो ।
आफु विरुद्ध यति यति भन्ने गरिएको जिकिर गर्दै उहाँले यतिबारे छानबिन गर्न चुनौती दिनुुभयो । बिदेशीको नाममा लिजमा दिएको जग्गा सोझो शेर्पाले लिजमा लिंदा हल्ला गरिएको पनि बताउनुुभयो । भारत भ्रमणमा बंगलादेश जाने बाटोको बदलामा कालापानी दिन सकिने प्रचण्डले अभिव्यक्ति दिएको आरोप लागाउदै ओलीले देशको जमिन अरुलाई दिने अधिकार प्रचण्डलाई नभएको बताउनुुभयो ।
आफ्नो नेतृत्वमा सरकार हुँदा उच्चतम विकास भएको दाबी गर्दै उहाँले अहिले जतासुकै विनास मात्र देखिएको बताउनुुभयो । ओलीले विरोधीहरुलाई देखाउनका लागि एकतावद्ध भएर जान जरुरी रहेको बताउनुभयो । लुम्बिनीमा सबैभन्दा बढी पार्टीका पदाधिकारी रहेको चर्चा गर्दै उहाँले नेताहरु सबैसँगै बसेर सबैलाई चित्त बुझ्ने गरी मिलाएर नेतृत्व चयन गर्न आग्रह गर्नुुभयो ।



