बुटवल । कृषिमा सम्भावना भएपनि किसानमैत्री कृषि नीति नहुंदा कृषि क्षेत्र फस्टाउन नसकेको सरोकारवालाले बताएका छन् ।कृषिबाट देशलाई आत्मनिर्भर बनाउन लक्षित वर्गलाई सम्बोधन गर्ने गरी सरकारले कार्यक्रम ल्याउनु पर्ने किसानहरुको माग छ ।
तिलोत्तमा उद्योग वाणिज्य संघले रुपन्देहीको मणिग्राममा सञ्चालन गरेको व्यापार मेला सचिवालयमा बुधबार कृषि क्षेत्रको सम्भावना र समस्या विषयक गोष्ठीमा बोल्ने सहभागीले कृषिमा बिचौलियाहरु हाबी भएको बताए । कृषिबाटै जीविका निर्वाह गर्दै आएका र कृषि सामाग्री उत्पादन गर्ने साना किसानहरु सरकारले दिने राहत र सेवा सुविधाबाट बन्चित रहेको उनीहरुले बताए ।
समयमा बिउ, मल, सिंचाई र बजारीकरणको उचित व्यवस्था गरी खुल्ला सीमानबाट आउने भारतीय कृषि उत्पादनको आयत रोक्नु पर्ने उनिहरुले बताए । कृषिका लागि समग्र रुपन्देही र अझ बढी तिलोत्तमा सम्भावित क्षेत्र भएकाले माटो परिक्षणको सुविधा उपलब्ध गराई रासायनिक मल प्रयोग नगर्ने बातावरण मिलाइ दिन तीनै तहका सरकारसंग उनिहरुले माग गरेका छन् ।
सोही कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कृषि ज्ञान केन्द्र रुपन्देहीका बाली संरक्षण अधिकृत राजेन्द्र यादवले किासनका लागि कृषि कार्यक्रम भएपनि कार्यविधि नभएकाले काम गर्न समस्या भएको बताए । वास्तविक किसानहरुले अनुदान पाउन नसकेको बताउंदै उनले टाठाबाठाले मात्रै अनुदान पाउंदा वास्तविक किसानहरु अन्यायमा परेको बताए ।
कृषिमा सम्भावना प्रसस्तै भएको उल्लेख गर्दै उनले लामो समयसम्म रासायानिक मलको प्रयोगले माटो बिग्रिएकाले उत्पादनमा ह्रास हुंदै गएको बताउंदै उनले भने – माटो परिक्षण गरेर खती गर्नुपर्छ ।उनले युवा शक्ति विदेश पलायन, जग्गा खण्डिकरण, जलवायु परिवर्तन, सिंचाई, मल, बिउ, बजारीकरणको अभावका साथै रासायनिक मलको बढी प्रयोगका कारण माटो बिग्रिएकाले कृषि उत्पादनमा समस्या रहेको बताए ।
तिलोत्तमा नगरपालिकाका कृषि शाखा प्रमुख दोमलाल भुसालले कृषि उत्पादन बढाउने गरी किसानका लागि कृषि कार्यक्रम प्रभावकारी ढंगले सञ्चालन गरिएको दावी गरे ।
कृषि सञ्जाल तिलोत्तमाका अधयक्ष कृष्ण पन्थीले कृषि उत्पादनको जिम्मा सरकारले लिनु पर्ने बताउंदै कृषिमा अनुदान नचाहिने बताए ।तिलोत्तमा उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष एवम गोस्ठी सेमिनार समितिका संयोजक सुरज पंगेनीले कृषि क्षेत्रका समस्या पहिचान गरि समाधानका उपाय खोजी गर्ने उद्देश्यले संघले मेलामा यस्ता खालका कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा तिलोत्तमा उद्योग वाणिज्य संघका महासचिव राजकुमार पाण्डेय, कार्य समिति सदस्य बिना न्यौपाने, किसान यज्ञमूर्ती खनाल, अमृत श्रेष्ठलगायतले किसानका समस्या र सरोकारवाला निकायले निर्बाह गर्नुपर्ने भुमिकाका बारेमा धारणा राखेका थिए ।



