बुटवल । बुटवलमा विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न बुटवल उपमहानगरपालिकाले अन्तरविद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन गरी माघ २५ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालय सहभागी हुने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिनुभयो । उहाँले बुटवल ११ को फिफा टेक्निकल सेन्टरको मैदान र बुटवल १३ को जबइ खेलमैदानमा प्रतियोगिता आयोजना हुने गरी तयारी भएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई खेलकुदका क्षेत्रमा अग्रणी बनाउनका लागि विद्यालयस्तरदेखि भेट्रानसम्मका विभिन्न प्रतियोगिताहरु आयोजना गर्ने र खेलमैदानहरुको संरक्षण र मर्मतको काम गरिरहेको बताउनुभयो ।
उहाँले आगामी दिनमा अरु धेरै विधामा खेल प्रतियोगिता आयोजना गर्ने र खेलाडी तथा प्रशिक्षक उत्पादनमा समेत विशेष जोड दिने बताउनुभयो । प्रतियोगितामा २०६० साल माघ १९ गते भन्दा अघि जन्मिएका वा २० वर्ष ननाघेका विद्यार्थीमात्रै सहभागी हुने पाउनेछन् ।
प्रतियोगितामा प्रथम हुनेले एक लाख, दोश्रो हुनेले ६० हजार, सेमीफाइनलमा पुग्ने २ वटा टीमलाई १८–१८ हजारका दरले पुरस्कार, शिल्ड र पदक प्रदान गर्ने नगर खेलकुद विकास समितिका लालहरि पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र अधिकतम गोलकर्ताले ८–८ हजारका दरले पुरस्कार पाउनेछन ।



