बुटवल । रुपन्देही क्षेत्र नम्बर २ बाट एमाले उपाध्यक्ष बिष्णु प्रसाद पौडेल निर्वाचित भएका छन् । शुक्रवार राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई हराउँदै एमाले उपाध्यक्ष पौडेल बिजयी भएका हुन्। निर्वाचित पौडेलले२७१४७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी गणेश पौडेलले २५७८१मत प्राप्त गरेका हुन्। पौडेलद्वयको मतान्तर १३६६ रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यसैगरि सत्ता गठबन्धनका केशव बहादुर थापा (सुर्यवंशी) ले २२००८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कुल १ लाख २६ हजार ८०७ मतदाता रहेको क्षेत्र नं. २ मा ८१ हजार २०२ मत खसेको थियो। पुर्व उपप्रधान तथा अर्थमन्त्री समेत रहेका पौडेलको संसदिय यात्रा यो पाचौं पटक हो । २०५१ सालमा पहिलोपटक पाल्पाबाट निर्वाचित भएका पौडेल २०६४, २०७० र २०७४ सालमा रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । २०५६ सालको निर्वाचनमा भने पौडेल रुपन्देहीबाटै पराजित भएका थिए ।



