काठमाडौं । यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन । उनको उम्मेदवारी दर्ता गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न पार्टीका शीर्ष नेताहरु नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन पुगेका थिए ।
उनको प्रस्तावकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ‘एकीकृत समाजवादी’का अध्यक्ष माधवकुमार नेपाल, नेकपा ‘माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका नेता अशोककुमार राई र जनमत पार्टीका नेता अब्दुल खान रहेका छन। यस्तै पौडेलको समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्त ठाकुर, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे छन ।
वरिष्ठ नेता पौडेल गत मंसिर ४ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ–१ बाट फराकिलो मतान्तरले विजयी भएर छैटौँ पटक संसद्मा प्रवेश गरेका थिए । उनी यसअघि विसं २०४८ मा साविकको तनहुँ–१ र त्यसपछि तनहुँ–२ बाट विसं २०५१, २०५६, २०६४ र २०७० बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । यसबीचमा उनि उपप्रधान तथा गृह, स्थानीय विकास, कृषि, सञ्चारमन्त्री भइससको छन । उनले सभामुखको जिम्मेवारी निभाएका थिए ।
विसं २००१ असोजमा तनहुँको रिस्ती गाविसस्थित बाहुनपोखरामा जन्मिएका पौडेल १६ वर्षको उमेरदेखि नै राजनीतिमा लागेका थिए । कांग्रेसद्वारा सञ्चालित २०१८ को क्रान्तिमा पौडेलले सहभागिता जनाएका थिए । विसं २०२७ मा नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य रहेका पौडेल २०३४ सालमा पहिलो पटक कांग्रेस केन्द्रीय सदस्य र त्यसपछि पार्टीका उपसभापति तथा कार्यवाहक सभापति भएका थिए ।



