तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका १७ वडामा शनिबार सरसफाई गरिएको छ । नगरपालिकाको आह्वानमा टोल विकास संस्थाहरुले सडक र सार्वजनिक स्थानमा सघन सरसफाई गरेका हुन् । तिलोत्तमा नगरपालिकामा हाल १९९ वटा टोल विकास संस्थाहरु क्रियाशील छन् । नगरमा सञ्चालित समुदायमाआधारित हरियाली प्रवद्र्धन एवं नगर सरसफाई अभियानको एक सयौं श्रृंखलाको अवसरमा शनिबार नगरका सबै टोलमा सरसफाई गरिएको नगर प्रमुख रामकृष्ण खाणले बताए ।
सरसफाईमा नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, अभियान संयोजक सुरेन्द्र श्री लगायतका जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ—संस्था, क्लव, विद्यालय, आमा समूह, टोल विकास संस्थाहरुले सहभागिता जनाएका थिए । तिलोत्तमा नगरपालिकाले सरसफाईलाई नगरबासीको जीवन पद्धतिसँग जोड्नेगरी अभियान सञ्चालन गरेको छ ।
आफूले गरेको फोहोर आफैंले व्यवस्थापन गर्नेगरी नगरबासीमा सचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिएको नगर उपप्रमुख जागेश्वरी चौधरीले बताइन् । एक जनाले गरेको फोहोर अर्कोले टिपेर स्थायी समाधान हुँदैन । यसका लागि हरेक व्यक्तिमा आफूले गरेको फोहोर आफैं व्यवस्थापन गर्ने बानीको विकास हुनुपर्छ । वडा नं. ७ को भलबारी चोकमा सरसफाई कार्यक्रमको सुभारम्भ गर्दै नगर प्रमुख खाणले सरसफाईलाई संस्कार र संस्कृतिसँग जोड्दै तिलोत्तमामा हरियाली प्रवद्र्धन र सरसफाईका कार्यक्रमहरु अघि बढाइने बताए ।
उनले तिलोत्तमालाइ शहरको जस्तो भौतिक पूर्वाधार विकास र गाउँको जस्तो सामाजिक सद्भावकायम राख्नेगरी विकास गर्नुपर्नेमा जोड दिए ।
त्यस अवसरमा अभियानका संयोजक सुरेन्द्र श्री, नगरस्तरीय टोल विकास संस्था सञ्जालका संयोजक हेमराज पौडेल, समाजसेवी गंगाशाही, नगरपालिकाको वातावरण शाखाका गोरखनाथ खनाल लगायले नगरपालिकाको अभियानको बारेमा आफनो भनाई राखेका थिए ।
यसैबीच सप्ताहव्यापीकार्यक्रमअन्तर्गत् शनिबार नगरपालिकामा रक्तदानकार्यक्रम समेत भएको छ । त्यसअवसरमा ६३ जनाले रक्तदान गरेका छन् । रक्तसञ्चार सेवा केन्द्र सिद्धार्थनगरको प्राविधिक सहयोगमा नगरपालिकामा रक्तदान कार्यक्रम भएको हो । रक्तदानमा जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ संस्था, टोल विकास संस्थाले सहभागिता जनाएका थिए ।
तिलोत्तमा नगरपालिकामा २०७४ सालबाट नियमित सरसफाई अभियान सुरु भएको थियो । आगामी चैत्र १ गते एक सयौं श्रृंखलामा पुग्ने अभियान अन्तर्गत हरेक महिनाको १ र १५ गते नगर प्रमुख, उपप्रमुख लगायतका जनप्रतिनिधिहरुको सहभागितामा नगर स्तरीय सरसफाई अभियान सञ्चालनहुँदै आएको छ । वडा कार्यालय र टोल विकास संस्थाहरु समेतले नियमित सरसफाई अभियानचलाउँदै आएका छन् ।
निरन्तर सरसफाई अभियान चलाएको तिलोत्तमाले आफूलाई मुलुककैं पहिलो पूर्णसरसफाई उन्मुख नगरपालिका बनाउन सफलभएको छ । ग्रीन तिलोत्तमा ःक्लिन तिलोत्तमा महाअभियानको क्रममा नगरपालिकामा यहीँ फागुन २५ बाट सप्ताहव्यापी कार्यक्रमहरु आयोजना गरिएका छन् ।



