कपिलवस्तु । कपिलवस्तुको सिद्धार्थ क्याम्पस बुङ्चीमा अनेरास्ववियुका अध्यक्ष पदका उम्मेदवार अंजित खनाललाई पराजित गर्दै नेविसंघका निलकुमार थारु विजयी भएका छन् । राजनीतिमा विरासतले विशेष महत्व राख्दै आए पनि वि.सं. २०५२ साल यताको एमाले निकट अनेरास्ववियुको किल्ला तोड्दै सिद्धार्थ क्याम्पसमा नेविसंघ विजयी भएको छ । सिद्धार्थमा नेविसंघ विजयी भएसँगै अखिल लामो समयपछि सिद्धार्थ क्याम्पसमा मर्माहत हुन पुगेको हो ।
निर्वाचन समितिका प्रमुख गोविन्द खनालका अनुसार थारुले ३ सय ७२ मत पाएका छन् । थारुसंग अनेरास्ववियुका अध्यक्ष पदका उम्मेदवार अंजित खनाल पराजित भएका छन् । खनालले ३ सय ४२ मत ल्याएका छन् । खनाललाई अखिल छैठौं र अखिल क्रान्तिकारी (बहुमत)ले समर्थन गरेको थियो ।
यस्तै अखिल (क्रान्तिकारी) संयुक्त प्यानलका विष्णु बहादुर राउत विज्ञानले १ सय २० मत प्राप्त गरे । सचिव पदमा भने अनेरास्ववियुका उम्मेदवार पशुपति गिरी विजयी भएका छन् । गिरीले ४ सय ३८ मत प्राप्त गरेर विजयी भएका हुन । नेवि संघका नारायण पौडेलले ३ सय ५६ मत पाउँदा अखिल क्रान्तिकारी संयुक्त प्यानलकी बर्षा बन्जाडेले ६१ मत मात्र ल्याइन् ।
कोषाध्यक्षमा नेविसंघका मनोज न्यौपाने विजयी भएका छन् । उनले ४ सय ३८ मत पाउँदा अनेरास्ववियुकी अप्सरा चौधरी थारुले ३ सय १५ मत ल्याइन् । सदस्य तर्फ अनेरास्ववियुका हरि प्रसाद थारु, अर्चना आचार्य, सवित्रा पाण्डे, विपना गिरी निर्वाचित भएका छन् ।



