बुटवल । सहकारीको माध्यमबाट दूध उत्पादनमा जोडिएका रुपन्देहीको सैनामैनाका किसानहरु दूध बेचेको पैसा नपाएर हैरानी ब्यहोरेका छन् । आर्थिक उत्पादनको मुख्य पेशा कृषिलाई अँगालेका किसानहरुले लामो समयदेखि दूध बिक्री गरेको पैसा नपाएपछि पीडित बन्न पुगेका छन् । सैनामैना नगरपालिका साल्झण्डी स्थित सालझण्डी दूग्ध उत्पादक सहकारी संस्थाका ४ सय १९ शेयर सदस्य, र अन्य २ सय ३६ जना गैरसदस्यद्धारा उत्पादित ५ हजार लिटर दूध मिष्ठान भण्डार र पाठक दूध डेरीलाई दिँदै आएका किसानहरुले उधारोमा दिएको दूधको पैसा पाउन निकै सकस भएको सो सहकारीका अध्यक्ष तिलकराम घिमिरेले बताउनु भयोे ।
अध्यक्ष घिमिरेले विगत १२ वर्ष यतादेखि दूधको कारोबार गरेका मिष्ठान्न र पाठकले किसानबाट उधारोमा ल्याउने यता नगदमा बिक्री गर्ने भए पनि किसानहरुको पैसा करिब डेढ बर्षदेखि नदिएपछि किसानहरु सहकारीको कार्यालय घेराउ गर्न आएको बताउनुभयो । बक्यौता रकम दिनका लागि सहकारीले धेरै पटक पत्र पठाए पनि कुनै सुनुवाई नभएको घिमिरेले बताउनुभयो । किसानसँग उधारोमा उठाएर आफूले नगद बेचेर पनि पैसा नदिएपछि बाध्य भएर धर्ना बसेको अध्यक्ष घिमिरेको भनाइ छ ।
२०६७ सालदेखि बुटवलको ट्राफिक चोकमा रहेको कस्तुरी मिष्ठान्न भण्डार र पाठक दूध डेरीलाई दूध दिँदै आएको बताइएको छ । किसानको रकम तिर्न आनाकानी गरेको, खाली दिएको चेक गत मंसिरबाट नसाटिएपछि दूध दिन छोडेको सालझण्डी दूग्ध उत्पादक सहकारी संस्थाले जनाएको छ ।
सोमबार बिहान दूध बेचेका किसानहरुले रकम नपाएपछि दुवै पसल अगाडि धर्ना दिएका छन् । सहकारी एवं किसानहरुका अनुसार कस्तुरी मिष्ठान्न भण्डार र पाठक दूध डेरीले २५ लाख ३० हजार ४ सय रुपैयाँ किसानहरुलाई दिन बक्यौता रहेको जनाइएको छ ।
कस्तुरी मिष्ठान्न भण्डारले १३ लाख ७० हजार ४ सय र पाठक दूध डेरीले ११ लाख ६० हजार रुपैयाँ तिर्न बाँंकी रहेको उल्लेख छ । पाठक दूध डेरीका सञ्चालक नेत्र पाठकले आफूसँग भएको आपसी समझदारी अनुसार दुध नपुर्याएपछि पैसा रोकिदिएको बताउँदै पैसा नभएर नदिएको नभई सम्झौता अनुसार नदिएको बताउनुभयो ।



